पत्रकार महासंघ बागलुङको भवनको लागि सहयोग

मंगलबार, ०९ माघ २०७४, १२ : १५
पत्रकार महासंघ बागलुङको भवनको लागि सहयोग

बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका लागि सोमबार मात्रै १ लाख रुपैयाँ भन्दा बढी सहयोग प्राप्त भएको छ ।
‘हामी सबैको रहर, पत्रकार महासघं बागलुङको घर’ अभियानका क्रममा सोमाबार परेको सरस्वती पूजा तथा विभिन्न विद्यालयको वार्षिकोत्सव कार्यक्रमको अवसरमा १ लाख १८ हजार ४ सय ८७ रुपैयाँ प्राप्त भएको महासंघका कोषाध्यक्ष विजय रानाले जानकारी दिए ।

सरस्वती पुजाको अवसरमा आयोजित कार्यक्रममा गोल्डेन गेट एजुकेशनल सेन्टर प्रालिका संरक्षक तथा कोरियन भाषा प्रशिक्षक अनुप रिजालले सबै भन्दा धेरै ५० हजार ५ सय ५५ रुपैयाँ को चेक पत्रकार महासंघका अध्यक्ष दिल शिरीषलाई प्रदान गरेका हुन् ।

त्यस्तै फ्युचर ब्राइटर मावि बागलुङले १५ हजार ५ सय ५५, अमृत आदर्श माविले १० हजार, गोल्डेन गेट एजुकेशनल सेन्टरले १० हजार, धौलागिरी बहुमुखी क्याम्पसले ९ हजार ५ सय, युएस एकेडेमी बागलुङले ५ हजार ५ सय ५५, बागलुङ बारका पूर्व अध्यक्ष राजु गौतमले ७ हजार ७ सय ७७, डिलप्रसाद शर्माले ५ हजार ५ सय ५५ र पत्रकार भाषा शर्माले ५ हजार १ सय प्रदान गरेका छन् ।

गत वर्ष माग महिनादेखि निर्माण कार्य सुरु भएको भवनको दुई तला ढलान भइसकेको छ । भवन निर्माणका लागि जिल्ला बाहिर र विदेशमा रहेका शुभेच्छुकहरुले समेत महासंघको अभियानमा सहभागी भएर सहयोग गर्ने क्रम जारी रहेको संघका अध्यक्ष दिल शिरिषले जानकारी दिए ।

कुल १ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि हालसम्म झण्डै ६० लाख रुपैयाँ संकलन भएको शाखाका कोषाध्यक्ष विजय रानाले बताए । बागलुङ नगरपालिका ३ मिलिजुली टोलमा भाडा तिरेर कार्यालय संचालन गर्दै आएको संघले २ तलको फिनिसिङ गर्ने कार्य भैरहेको र फिनिसिङ भैसक्यो भने आगामी बैशाखमा आफ्नै भवनबाट कार्यालय संचालन गर्ने र थप तला अर्को आर्थिक वर्षमा सुरु गर्ने संघका सचिव राम थापा अविरलले बताए ।

प्रतिक्रिया दिनुहोस