विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री

मंगलबार, ०९ माघ २०७४, १२ : ०८
विद्यार्थीलाई ट्रयाकसुट र शैक्षिक सामग्री

बुटवल । रोट्रयाक्ट क्लब अफ बुटवल साउथले रुपन्देहीको देवदह–१०, मुढाबासस्थित जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शीतलहरमा ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

विगत पाँच वर्षदेखि सो विद्यालयलाई विभिन्न सामग्री प्रदान गर्दै आएको क्लबले सोमबार एक कार्यक्रमको आयोजना गरी ट्रयाकसुट तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा सो विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थी र शिक्षकलाई समेत गरी ५१ जोर ट्रयाकसुट तथा शैक्षिक सामग्री गरी करिब रु ७० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष दीपा पाठकको सभापतित्व र रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष तारानाथ कँडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर सलामी, प्रधानाध्यापक इन्द्रप्रसाद शर्मा, रोट्रयाक्ट क्लब अफ बुटवल साउथका प्रकाश खरेल प्रथम उपाध्यक्ष रमेश नेपाल, रोट्रयाक्ट क्लब अफ तिलोत्तमाका मोहन न्यौपाने, कार्यक्रम संयोजक कृष्ण भुसाल, रोट्रयाक्ट क्लब अफ बुटवल प्रकाश खरेल, क्लबका सचिव टेकबहादुर बुढालगायतले कार्यक्रमको उद्देश्य र औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष कँडेलले बुटवलबाट आठ÷नौ किमीको दूरीमा रहेर पनि विकासको दृष्टिकोणले पछाडि परेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा विद्यालयलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद शर्माले क्लबले विगत पाँच वर्षयता विद्यालयलाई गर्दै आएको सहयोगले स्थानीय बासिन्दा तथा विद्यार्थी उत्साहित भएको बताउँदै क्लबको गतिविधिले विद्यालयमा विद्यार्थीको संख्यामा समेत उल्लेख्य वृद्धि भएको जानकारी दिनुभयो । ६२ घरधुरीको बसोबास रहेको मुढाबासस्थित सो विद्यालयमा ४५ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् भने चारजना शिक्षकले अध्यापन गराउँदै आएका छन् । नर्सरीदेखि कक्षा चारसम्म सञ्चालित विद्यालयमा चार शिक्षकमध्ये दुईजना मात्रै स्थायी छन् ।  (रासस)

प्रतिक्रिया दिनुहोस