ईश्वरीगंगा धाममा प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेलाको तयारी

मंगलबार, ०९ माघ २०७४, १२ : ०१
ईश्वरीगंगा धाममा प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेलाको तयारी

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ । प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ ।

फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिए । मेलास्थल ईश्वरीगंगाधाममा कुम्भमेलाको तयारी भइरहेको छ ।

फागुन १ गते रुद्राभिषेक गरी फागुन ३ गतेदेखि ६ गतेसम्म महारुद्री यज्ञको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिए । विसं २०४० देखि सञ्चालन हुँदै आएको कुम्भमेला चौथोपटक शुरु हुन लागेको हो । ईश्वरीगंगाधामको महत्वका बारेमा सबैलाई बुझाउनका लागि कुम्भमेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

ईश्वरी गंगाधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । महाशिवरात्रिका अवसरमा लाग्ने उक्त चौथो कुम्भमेलाको तयारी तीव्र पारिएको छ । बैतडीमा थुप्रै धार्मिक सम्पदा रहेका भए पनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस