कुलमान घिसिङविरुद्ध कुर्लने अमनलाल मोदी को हुन् ?

भारतीय प्रधानमन्त्रीसँग थर मिल्दैमा यिनी आफूलाई नेपालकै प्रधानमन्त्री त सम्झिरहेका छैनन् ?

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, १२ : ४३
कुलमान घिसिङविरुद्ध कुर्लने अमनलाल मोदी को हुन् ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । 
यसले गर्दा दुहवीबाट विद्युत सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणले जनाएको छ । कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसुनवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन । कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकिएन भने  विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ । स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । 
ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ । मोदीले स्थानीयको मागलाई साथ दिंदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् । प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सबस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले संचालनमा ल्याउन सकेको छैन । प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए । तर, मन्त्री पुनको अग्रहलाईसमेत मोदीले मानेका छैनन् । 
स्रोतका अनुसार, त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेका हुन् । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ । 
सबस्टेसन संचालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन् । तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन ।  
मोदीले उद्योगी व्यवसायीलाई समेत धम्क्याएर चन्दा माग्ने गरेका छन् । उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग पनि पाँच लाख रुपैयाँ चन्दा मागेको बताइन्छ । मोदीले घिसिङको योजना अनुसार काम हुन नदिनुको मुख्य कारण यही हो भन्ने चर्चा चल्न थालेको छ । 

‘फोर्स लोडसेडिङ’ हुनसक्ने
नेपाल कम्युनिष्ट पार्टीका सांसद अमनलाल मोदीले तार तान्न अवरोध पुर्याएकाले विराटनगर औधोगिक क्षेत्रमा ‘फोर्स लोडसेडिङ’ हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसद मोदीले ‘प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टचार गरिरहेको’ आरोप लगाएपछि उनले आफ्नो निर्वाचना क्षेत्रमा पुर्याएको अवरोध बाहिरिएको हो ।

लेख समितिको बैठकमा मोदीको प्रतिवाद गर्दै घिसिङले ‘आफूले भ्रष्टचार गरेको प्रमाणित भए भुण्डिएर मर्न तयार रहेको’ चेतावनी दिएका थिए । लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग डेडिकेटेट र ट्रंक लाइन महुशलका विषयमा देखिएको विवादमा छलफल गर्न ऊर्जा सचिव दिनेशकुमार घिमिरे, निर्देशक घिसिङ लगायतलाई बोलाएको थियो।

‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार गर्यो भन्दै जथाभावी बोल्नेरु’ आक्रोशित हुँदै कार्यकारी निर्देशक घिसिङले चुनौती दिए।निर्देशक कुलमान विरुद्ध आक्रोशित देखिएका मोदीले ‘लोडसेडिङ अन्त्य गरेको जसलिंदै संस्थाभित्र भ्रष्टचार गरेको’ आरोप लगाए। ‘२५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरिएको छ, आफ्ना विद्युतगृहबाट विद्युत उत्पादन नगरी कमिसन लिएर भारतबाट बढी विद्युत् आयात गरिएको छ’, उनको आरोप थियो ।

को हुन् अमनलाल मोदी ?
माओवादी नेता अमनलाल यादवको जन्म २०४२ सालको असोज ५ गते डंग्राहा ३ मोरङमा भएको हो । २०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्य हुँदै राजनीतिमा लागेका मोदी २०५७ सालमा माओवादीको क्षेत्रीय सदस्य भए । 
२०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य बनेका अमनलाल अनेरास्ववियु क्रान्तिकारीको उपाध्यक्ष, अध्यक्ष हुँदै माओवादीको जिल्ला सदस्य बने । २०७० सालको चुनावमा माओवादीको निर्वाचन परिचालन कमिटी संयोजक बनेका मोदी संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए । मोदीले गएको प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस