उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै

यस्तो छ उनको भ्रमण तालिका

सफल खबर संवाददाता

आइतबार, १२ जेठ २०७६, ०६ : ५३
उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै

काठमाडौं । यूरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज बिहान त्यसतर्फ प्रस्थान गर्न लागेका छन् ।

उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेका हुन् ।

उनी विहान ९ बजेर २० मिनेटमा कतार एयरवेजको बिमानमार्फत अष्ट्रिया प्रस्थान गर्नु हुनेछ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी हुदैछन् ।

अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी भएर नेपालको धारणा राख्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । मगर पनि उपराष्टपतिको भ्रम्ण टोलीमा सहभागी हुँदैछन् ।

भ्रमणको क्रममा अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट गर्नेछन् । पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिक केन्द्रको रुपमा रहेको छ ।

अष्ट्रियामा रहँदा उपराष्ट्रपतिले अष्ट्रिया स्थित नेपाली राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।  

भ्रमणको क्रममा उहाँले अष्ट्रियामा रहनुभएका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । पुन भ्रमण सकाएर जेठ १८ गते स्वदेश फर्कनेछन् ।  

आर–२० युरोपका शक्तिशाली २० मुलुकहरुको समूह हो । यो वातावरण कार्वनडाईअक्साइड उत्सर्जन गर्न बढी जिम्मेवारी औद्योगिक देशहरुको समूह हो । संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्य र पेरिस संझौताका जनादेशहरु हासिल गर्न सहयोग हुने गरी अष्ट्रियामा हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । सम्मेलनमा विभिन्न मुलकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्रीहरु सहभागी हुने कार्यक्रम छ । 


 

प्रतिक्रिया दिनुहोस