ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर घाइते

एजेन्सी

शनिबार, ११ जेठ २०७६, ११ : १२
ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु, २० गम्भीर घाइते

काठमाडौं । भारतको एक ट्युसन सेन्टरमा  आगलागी भएको छ । आगलागीमा परी कम्तीमा २० विद्यार्थीको ज्यान गएको छ भने २० विद्यार्थी गम्भीर घाइते भएका छन् । गुजरात राज्यको सुरत शहरको  ट्युसन सेन्टरमा पढाइ भइरहेका बेला आगलागी भएको हो । 

माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएपछि केही विद्यार्थी त्यसमै जलेका छन् । आगोबाट जोगिन केही विद्यार्थी भवनको माथिल्लो तलाबाटै हामफालेका थिए । त्यसबाट कतिपयको ज्यान जानुको साथै केही घाइते भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

‘आगोमा जलेर तथा हामफालेर धेरै विद्यार्थीले ज्यान गुमाएका छन्’, सुरतका स्थानीय सरकारी अधिकारी दीपक सप्तलीले एएफपीसँग भनेका छन् ।

गम्भीर घाइतेहरुको उपचार गुजरातका विभिन्न स्थानीय अस्पतालमा  भइरहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगमा जुट्न स्थानीय अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान सरकारी अधिकारीहरुले गरेका छन् । तर, प्रष्ट कारण खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस