भाजपा एक्लैको यस्तो चमत्कारी जित, मोदी फेरि प्रधानमन्त्री

तीन सय बढी सिटमा जित हात

एजेन्सी

शुक्रबार, १० जेठ २०७६, १६ : १२
भाजपा एक्लैको यस्तो चमत्कारी जित, मोदी फेरि प्रधानमन्त्री

एजेन्सी । भारतमा भारतीय जनता पार्टी (भाजपा) एक्लैको चमत्कारी जित भएको छ । भारतमा १७ ‍औं लोकसभा चुनावको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।  

अन्तिम मत परिणामअनुसार सत्तारूढ भारतीय जनता पार्टी एक्लैले तीन सय बढी सिटमा जित हात पारेको छ। भाजपाले तीन सय ३ सिट जितेको छ। यो सन् २०१४ भन्दा २१ सिट बढी हो। यो जितसँगै नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ।

पाँच वर्षअघि भाजपाले  २ सय ८२ सिट जितेको थियो। भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ। पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो यसपालि १४ सिट बढाएर ३ सय ५० पुर्‍याएको छ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ। पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पुर्‍याएको छ भने उसको गठबन्धन युपिएले  ८५ सिट जितेको छ। सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो।
लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस