भारत निर्वाचन: नेपालमा चुनावको नतिजाप्रति किन धेरै चासो

एजेन्सी

विहीबार, ०९ जेठ २०७६, २० : ०९
भारत निर्वाचन: नेपालमा चुनावको नतिजाप्रति किन धेरै चासो

बिबिसी । छिमेकी राष्ट्र भारतमा मतगणना भइरहेको तल्लो सदन लोकसभा चुनावको सम्बन्धमा नेपालमा व्यापक चासो व्यक्त भइरहेको छ।

सात चरणमा करिब छ हप्ताको समयावधिमा मतदान भएको लोकसभाका कुल ५४२ सिटको प्रारम्भिक नतिजा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी बीजेपीका लागि उत्साहजनक देखिएको छ।

मोदीका लागि जनमतसङ्ग्रहका रूपमा हेरिएको चुनावको प्रारम्भिक नतिजाको अर्थ सत्ताको बागडोर अर्को पाँच वर्षका लागि हिन्दू राष्ट्रवादी बीजेपीको हातमा आउने छ।

निर्वाचनको नतिजाले नेपाललाई पार्नसक्ने प्रभावका कारण भारतीय चुनावप्रतिको नेपालीहरूको चासोलाई विज्ञहरू स्वभाविक मान्छन्।

मोदीकै कार्यकालमा भारतले विनाशकारी भूकम्प लगत्तै नेपालमाथि नाकाबन्दी लगाएको थियो। सो घटनापछि धेरै नेपाली मोदीका आलोचक भएका थिए।

त्यसअघि आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको संसद्‌मा सम्बोधन गरेका र काठमाण्डूको सडकमा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएका मोदीले व्यापक प्रशंसा पाएका थिए।

भारतका लागि नेपालका पूर्वराजदूत दिपकुमार उपाध्यायको विचारमा भारतीय चुनाव र त्यसको नतिजाप्रति चासो राख्नु एक किसिमको प्रचलनजस्तै भएको छ।

भारतीय चुनावी नतिजामा धेरै चासो राख्नुभन्दा आफ्ना आन्तरिक मामिला र मुद्दामै ध्यान दिँदा राम्रो हुने उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस