विचार मिल्नेको एकता राष्ट्रको आवश्यकता : प्रचण्ड

आइतबार, २६ कार्तिक २०७४, १५ : १६
विचार मिल्नेको एकता राष्ट्रको आवश्यकता : प्रचण्ड

चितवन । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विचार मिल्ने पार्टीहरुबीचको एकता अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुर बजारमा आइतबार आयोजित संयुक्त वाम गठबन्धन चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
विचार मिल्नेहरुको एकता राष्ट्रको आवश्यकता हो । फुटले कसैलाई पनि फाइदा गरेको छैन । देशलाई फाइदा गरेको छैन, पूर्वप्रधानमन्त्री प्रचण्डले भने, हामी विचार मिल्नेहरु मिलेका हौँ । काँग्रेस पनि विचार मिल्नेहरुसँग मिलोस् । हाम्रो एकता काँग्रेसविरुद्ध होइन । देशको लागि कम्युनिष्ट र काँग्रेस दुबैथरीको आवश्यकता छ । ऐतिहासिक शान्ति सम्झौता र गणतन्त्रबाट काँग्रेस पछाडि नहटोस् ।
विगतका जनआन्दोलन र संविधान निर्माणको काम काँग्रेस, एमाले र माओवादी मिलेरै पूरा गरेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले इतिहासको चक्का पछाडि फर्काउने धृष्टता काँग्रेसले नगरोस् भनी खबरदारी गरे । उनले इतिहासलाई पछाडि फर्काउने काम गरे काँग्रेसकै निम्ति आत्मघाती हुने चेतावनी दिए । यदि काँग्रेस हलोतिर फर्कन्छ भने उसलाई गिरिजाबाबु जिन्दावाद भन्ने अधिकार नरहने प्रचण्डको भनाइ थियो ।
काँग्रेसले आफ्नो पार्टीबाट उम्मेदवार नउठाउँदा आफूले प्रतिस्पर्धी नै पाउन नसकेको बताउँदै प्रचण्डले भने, लोकतन्त्रका लागि लडेका काँग्रेसका पुराना नेता कृष्णलाल सापकोटा, टेकप्रसाद गुरुङ र रामकृष्ण घिमिरेमध्ये कोही एक जनालाई मेरो विरुद्ध काँग्रेसले चुनावमा खडा गरेको भए मैलै ठान्ने थिएँ, मैले प्रतिस्पर्धी पाएँ । त्यस्तो हुन सकेन । ठेक्कापट्टा गर्ने बिचरा ठेकेदार कसरी मेरो प्रतिस्पर्धी हुन सक्छन् ? 


चुनावी सभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर तीनका उम्मेदवार प्रचण्डले चितवन जिल्लालाई अन्तर्राष्ट्रिय स्तरको नमुना शहर बनाउन सकिने बताए । एसियाली मापदण्डभन्दा माथिको शहरमा चितवनलाई रुपान्तरण गर्न सकिने प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो । यहाँको नदीनाला, वनजंगल र जमिनलाई उपयोग गरेर सिंगो चितवनलाई एउटै अन्तर्राष्ट्रिय स्तरको नमुना शहर बनाउन सम्भव छ, प्रचण्डले भने, अबको हाम्रो राजनीतिक यात्रा मुलुकको समृद्धि र विकासका लागि हुनेछ ।
देशका दुई ठुला कम्युनिष्ट पार्टीहरु एकापसमा मिल्नुको अर्थ राजनीतिक स्थिरता र विकासको लागि पाँच वर्षसम्म टिक्ने सरकार बनाउनु रहेको प्रचण्डले स्पष्ट पारे । उनले विकास र समृद्धिकै निम्ति पार्टी एकता गर्ने निष्कर्षमा पुगेको पनि बताए । चितवनमा विकासका प्रचुर सम्भावना रहेको बताउँदै उनले यस जिल्लालाई देशकै नमुना बनाइने प्रतिवद्धता व्यक्त गरे ।
भरतपुर महानगरपालिका वडा नम्बर १६, फुर्तीचोकमा आइतबार नै आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सुकुम्बासीलाई औद्योगिक क्षेत्रको वरपर बहुतले भवनको व्यवस्था गरेर सामुहिक आवासको व्यवस्था गर्न सकिने बताए । उनले जग्गा बाँडेरभन्दा पनि उद्योगको विकास गरेर रोजगारीसँगै आवास उपलब्ध गराएर सुकुम्बासी समस्या समाधान गर्न सकिने विचार व्यक्त गरे ।
नारायणी नदीको कटान मंगलपुर क्षेत्रको समस्या रहेको बताउँदै प्रचण्डले यसको समाधानका लागि वामपन्थीहरुको बहुमतको सरकारले तटबन्धनको बृहद योजना ल्याउने बताए । कार्यक्रममा चितवन क्षेत्र नम्बर तीनका स्वतन्त्र उम्मेदवार हरिप्रसाद दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिँदै प्रचण्डलाई समर्थन गरे । उनले ठेकेदारको काम ठेक्कापट्टा नै भएको बताउँदै देशको राष्ट्रिय नेता प्रचण्डलाई जिताउनु हरेक नागरिकको कर्तव्य भएको विचार व्यक्त गरे ।
 

प्रतिक्रिया दिनुहोस