‘सरकार ! क्यान्सरपीडित गरिबको उपचार निःशुल्क गरिदेऊ’

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १५ : २५
‘सरकार ! क्यान्सरपीडित गरिबको उपचार निःशुल्क गरिदेऊ’

चितवन । ‘छोरा अस्विन मैनाली तीन वसन्त काटेर चार वर्षमा पुगेका मात्र थिए, अचानक छोरामा व्लड क्यान्सर देखियो’ बुबा रामनाथ मैनालीले यसो भनिरहँदा उनको बेलाबेला गला अवरुद्ध हुन्थे । 

घटना २०६० सालको हो । त्यतिबेला व्लड क्यान्सर भनेपछि सबै डराउँथे । त्यसमा पनि चार वर्षकै उमेरमा देखिनु...। मैनाली परिवार कम्ती त डराएनन् । आखिरी डराएर मात्र पनि के गर्नु ? हुनु भइहाल्यो । व्लड क्यान्सर निको भएको खबर त्यतिबेला पनि मैनाली परिवारको कानमा परेकै हो । 

क्यान्सर आफैँमा डरलाग्दो नसर्ने रोग, त्यसमा पनि चार वर्षको छोरामा त्यही क्यान्सर देखिएपछि रामनाथ मैनालीको परिवारमा ठूलो बज्रपात आइलाग्यो । तर जे परे पनि सहनु नै छ, सहनुको विकल्प अरु के नै भयो र ? यही सोचे मैनाली परिवारले ।

‘उपचार गरे निको हुन्छ कि भन्ने आश पलायो’ मैनाली भन्छन्, ‘छोराको उपचारको लागि भारत मुम्बाइको टाटा मेमोरियल अस्पतालमा भर्ना गरी उपचारमा लागेँ ।’ मैनाली परिवारले छोराको लागि गरेका दुई वर्षे लामो उपचार सफल भएन । अन्ततः छोराको ६ वर्षको उमेरमा २०६२ साल फागुनमा निधन भयो । 

छोरालाई क्यान्सर लागेपछि मैनाली आफूजस्तै परिवारमा कसैलाई क्यान्सर लागेर पीडित भएका अभिभावकहरुको खोजीमा लागे । उनले कसैको श्रीमती, कसैका छोरा, कसैका छोरी, कसैका काकाकाकी  क्यान्सरबाट पीडित भएका ११ जना अभिभावकलाई जम्मा गरे । छलफल चलाए । छलफलले क्यान्सर रोगका न्यूनीकरणको लागि देशभर सचेतना, शिविरलगायतका कार्यक्रम गर्ने निर्णय पारित गर्छ । 

उसबेलाको स्मरण गर्दै मैनाली भन्छन्, ‘त्यही ११ जना सदस्यहरुले जन्माएको संस्था हो, क्यान्सर सोसाइटी नेपाल, अहिले यही संस्थाले देशभर आफ्नै खर्चमा सचेतना तथा शिविरका कार्यक्रम चलाइरहेको छ ।’ उनका अनुसार २०६१ सालमा संस्था जन्माइयो, २०६२ सालमा व्लड क्यान्सरबाट पीडित रहेका छोरा अस्विनको मृत्यु भयो ।   

उनी भन्छन्, ‘संस्थामा आबद्ध भएका सबै सदस्यहरु क्यान्सरपीडित छन्, हामी आफैँ पीडित भएपछि यसको मर्का नजिकबाट हेर्न पाइयो, त्यसैले हामीलाई जस्तो अरुलाई नहोस् भन्ने उद्देश्यले क्यान्सर सोसाइटी नेपाललाई जन्म दिएर क्यान्सरको क्षेत्रमा काम गरिरहेका छौँ ।’

संस्था शिविर तथा सचेतनाका कार्यक्रमहरु लिएर देशभर दौडिएको छ । क्यान्सर सोसाइटी नेपाल यतिबेला क्यान्सरको विभिन्न शिविरदेखि जनचेतना जगाउने काममा लागिरहेको छ । सोसाइटी नेपालका संस्थापक अध्यक्ष मैनालीले भने, ‘उपचारमा सहुलियत दिन, उपचारको नीति निर्माण तहमा सरकारलाई झक्झकाउने काम पनि संस्थाले गर्दै आएको छ ।’ 

अध्यक्ष मैनालीका अनुसार क्यान्सर लाग्नेबित्तिक्कै उपचार गर्न नसकेर कुनै नेपाली मर्नुपर्ने अवस्था आउन नदिन निःशुल्क उपचारको लागि नेपाल सरकारलाई दबाब दिइरहेका छौँ । मैनाली भन्छन्, ‘क्यान्सर उपचारमा एक लाख दिएर हुँदैन, सम्पूर्ण उपचार निःशुल्क गरिनुपर्छ, नत्र विपन्नले उपचार गर्न नसकी मृत्युलाई अँगाल्नुबाहेक अरु कुनै विकल्प हुँदैन ।’

संस्थापक अध्यक्ष मैनालीले विपन्नलाई क्यान्सरको उपचार निःशुल्क गर्न सरकारलाई दबाब दिइरहेको बताए । उनी भन्छन्, ‘एउटा मजदुर दिनभर काम गरेर बिहान बेलुकाको छाक टार्न मात्र सक्छ भने ती मजदुरलाई क्यान्सर लाग्यो भने कसरी उपचार गर्न सक्छ ? हामी सरकारलाई यही भनिरहेका छौँ, ‘सरकार ! क्यान्सरपीडित गरिबको उपचार निःशुल्क गरिदेऊ ।’ 

उनका अनुसार क्यान्सरको उपचार यस्तो महँगो भयो कि, यो लागे गरिबले मृत्युलाई अँगाल्नुसिवाय अरु केही नहुने भयो । मैनाली भन्छन्, ‘आज पनि क्यान्सरको उपचारको लागि गरिबहरु झोली थाप्दै माग्न हिँड्नुपरेको छ, सहयोग संकलन अभियान चलाउनुपरेको छ,  विदेशमा बसेका दाजुभाइलाई गुहार्न परेको छ, यस्तो कहिलेसम्म सरकार ?’ 

क्यान्सर सोसाइटी नेपालले गरिब नेपालीहरु क्यान्सर उपचार गर्न नसकेर मृत्युवरण गर्ने अवस्था नओहोस् भनेर निःशुल्क उपचारको लागि विभिन्न दबाबमूलक कार्यक्रम गरिरहेको छ । मैनाली भन्छन्, ‘स्वास्थ्यमन्त्रीलाई भेट्नेदेखि विभिन्न निकायकामा दबाब दिने काम भइरहेको छ । क्यान्सरको उपचार गर्दागर्दै करोडपति रोडमा आउँछ, रोडमा रहेका गरिबहरु मृत्युवरण गर्नुपर्छ । सरकार कहिलेसम्म यसो हुन दिइरहने ?

धेरै नेपालीको घरखेत क्यान्सरले सकेको छ, घरखेत सकेर पनि मान्छे बाँचेको अवस्था छैन । यस्तो भयानक रोग बढिरहँदा अब सरकारले केही सोच्नैपर्ने अवस्था आएको मैनालीको भनाइ छ । उनी भन्छन्, ‘क्यान्सरको उपचार निःशुल्क हुनुपर्छ, प्रत्येक स्वास्थ्य चौकीमा उच्चस्तरीय क्यान्सर ल्याब राखिनुपर्छ, प्रत्येक सरकारी अस्पतालमा क्यान्सर युनिट खडा गरिनुपर्छ ।’

 
 

प्रतिक्रिया दिनुहोस