छोरीलाई जिस्क्याएकोमा विरोध गरेपछि भारतमा एक व्यापारीको हत्या

एजेन्सी

बुधबार, ०१ जेठ २०७६, १४ : ०६
छोरीलाई जिस्क्याएकोमा विरोध गरेपछि भारतमा एक व्यापारीको हत्या

एजेन्सी । भारतको राजधानी दिल्लीको मोतीनगरमा बसई दारापुर गाउँमा एक व्यापारीलाई ११ जनाले घेरेर हत्या गरेका छन् । एमएनसीमा जागिर खाने २६ वर्षीया छोरीलाई जिस्क्याएकोमा विरोध गरेपछि आरोपितहरूले व्यापारीको हत्या गरेका हुन् ।

हत्या गर्नेमा चार महिला पनि संलग्न छन् । पीडित परिवारका अनुसार, हत्याका लागि प्रयोग गरिएको ठूलो चक्कु आरोपितहरूकी आमाले दिएकी थिइन् । 

हत्यामा चार आरोपित पक्राउ परेका छन् । तीमध्ये एक पिता र तीन छोरा छन् । दुई नाबालक छन् । अन्य आरोपित घरबाट भागेका छन् । 

चक्कु हान्ने मुख्य आरोपितको नाम शमसे आलम भएको पीडित परिवारले बताएको छ । उसैले व्यापारीको पेट, छाती र काँधनजिक १० पटक प्रहार गरे । पितालाई बचाउन आएका छोरालाई पनि चार ठाउँमा चक्कु हानिएको छ । उनी

एक निजी अस्पतालको आईसीयूमा उपचार गराइरहेका छन् । उनको हालत गम्भीर छ ।

पीडित परिवारले बताएअनुसार, शनिवार राति १ बजे व्यापारीकी छोरीलाई माइग्रेन भयो । उनी छोरीका स्वास्थ्य जाँच गराउन आचार्य भिक्षु अस्पताल गए । फर्किंदा उनको घरनजिकको चोकमा तीन आरोपित युवक र उनीहरूका दुईतीन साथी उभिएका थिए । 

उनीहरूले युवतीमाथि घिनलाग्दो टिप्पणी गरे । छोरीले त्यो सुनिन् पनि । पिताले चाहिँ त्यतिखेर त्यसलाई बेवास्ता गरे । 

छोरीलाई घरमा छोडेर व्यापारी त्यही चोकमा पुगे । उनले आफ्नो स्कूटर पनि त्यहीँ छोडिदिएका थिए । उनले युवकहरूलाई यति राति के गरेर बसेका हौ, लाज लाग्दैन यसरी युवतीलाई जिस्क्याउँदा भनी सोधे । तिमीहरूका आमाबुवालाई बोलाउँछु भने । अनि आरोपितहरू रिसाए । 

तीमध्ये एकजना आफ्नो घर गयो र सबैलाई लिएर आयो । शमसे आलमले आफ्नी आमालाई घरबाट सामान ल्याउन भन्यो । आमाले घरबाट ठूलो चक्कु ल्याए र व्यापारीलाई प्रहार गरे । परिवारका अन्य मानिसले उसलाई रोक्न खोज्दा उसले उनीहरूलाई पनि चक्कु हान्यो । 

घटनामा शमसेका पिता, माता, दुई भाइ, तीन बहिनी, एक ज्वाईं र अन्य मानिस पनि संलग्न छन् । होहल्ला सुनेर केही अन्य मानिस पनि आए अनि उनीहरूले सबै कुरा देखे । व्यापारीको सोमवार राति देहान्त भयो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस