युरोप हिँडेको डुङ्गा भू–मध्य सागरमा पल्टिँदा ६५ जनाको मृत्यु

एजेन्सी

शनिबार, २८ बैशाख २०७६, १२ : २२
युरोप हिँडेको डुङ्गा भू–मध्य सागरमा पल्टिँदा ६५ जनाको मृत्यु

फाईल फोटो

एजेन्सी । आप्रवासी बोकेको एक डुँगा भूमध्यसागरमा पल्टिँदा ६५ को ज्यान गएको छ ।

संयुक्त राष्ट्रको शरणार्थी एजेन्सीका अनुसार यो डुङ्गा ट्युनिशिया नजिकको समुन्द्रमा पल्टिएको थियो ।

युएनएचसीआरले जारी गरेको एक वक्तव्यमा दुर्घटनामा हालसम्म १६ जनालाई बचाइएको छ । जीवित बचेका मानिसले बताए अनुसार डुङ्गा विहिबार लिबियाबाट युरोपको लागि निस्किएको थियो । समुन्द्रमा समय समय उठ्ने ठूलो लहरको कारण सानो डुङ्गा पल्टिएको हुन सक्छ ।

युएनएचसीआरको तथ्याकं अनुसार यो वर्ष हालसम्म लिबियाबाट युरोप जाने क्रममा १६४ को मृत्यु भइसकेको छ ।

पछिल्लो दुर्घटना यो वर्ष घटेको सबैभन्दा खराब दुर्घटना हो ।

दुर्घटनामा बचेका मानिसलाई ट्युनिशियाको नौसेनाले आफ्नो देशको तटमा लगेका छन् । ट्युनिशियाको रक्षा मन्त्रालयले घटना लगतै आफूहरु बचेकालाई उद्दार गर्न सक्रिय भएको बताएको छ ।

डुङ्गामा सवार अधिकांश अफ्रिकी छन् । हरेक वर्ष हजारौं अफिक्रि आप्रवासी भू–मध्य सागर पार गरेर युरोपतर्फ जाने कोसिस गर्छन् । यी मानिसको लागि लिबिया प्रमुख प्रस्थान विन्दू हुने गर्छ ।

आप्रवासीले प्रयोग गर्ने डुङ्गा त्यति ठूलो नहुने हुँदा समुन्द्रको ठूलो लहरले नै पल्टाइदिन्छ ।

तथापि सन् २०१७ को बीचतिरबाट आप्रवासीको यात्रामा उल्लेख्य कमी आएको छ ।

इटालीले लिबियाको सेनालाई उसको तटबाट हुने आप्रवासीको युरोप यात्रालाई रोक्न कडा निर्देशन दिएपछि यो परिवर्तन आएको हो । इटालीको कदमको मानव अधिकारवादी संगठनबाट आलोचना भएको थियो ।

यही वर्षको सुरुवाती तीन महिनामा कुल १५,९०० आप्रवासी भू–मध्य सागरको बाटो हुँदै युरोप पुगे । यसका लागि तीन रुट प्रयोग हुने गरेको पाइएको छ । आप्रवासीको संख्या त्यही अवधिको तुलनामा १७ प्रतिशत कम हो ।

संयुक्त राष्ट्रको एक रिपोर्ट अनुसार सन् २०१८ मा भू–मध्य सागर पार गर्ने क्रममा प्रतिदिन ६ आप्रवासीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस