व्यापार विवाद: 'थप चिनियाँ सामानमाथि कर लगाउन गृहकार्य थालियो'

अमेरिका र चीनको विवाद किन?

एजेन्सी

शनिबार, २८ बैशाख २०७६, ०९ : १४
व्यापार विवाद: 'थप चिनियाँ सामानमाथि कर लगाउन गृहकार्य थालियो'

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन्, उनको प्रशासनले सवा ३ सय अर्ब डलर बराबरका चिनियाँ सामानमाथि कर लगाउनका लागि काम सुरु गरेको छ।

आफ्ना शृङ्खलाबद्ध ट्वीटमा उनले परम्परागत सम्झौता भन्दा थप करले अमेरिकालाई अझ धेरै समृद्ध बनाउने बताए।

बेइजिङसँग वार्ता जारी रहँदारहँदै पनि वासिङ्टनले मध्यरातमा दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा १० देखि २५ प्रतिशत कर बढाएको थियो।

यसअघि नै अमेरिकाले दुई खर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामानमाथिको आयातशुल्कमा दोब्बर वृद्धि गरेर दुई देशबीच जारी व्यापार विवादलाई थप जटिल बनाइदिएको छ।

सम्झौता प्रयास जारी
अमेरिकाले १० प्रतिशत रहेको आयातशुल्क २५ प्रतिशत पुर्‍याएपछि चीनले पनि त्यस्तै कदम चाल्ने बताएको छ।

चीनले अमेरिकी कदममा खेद व्यक्त गर्दै आवश्यक प्रतिरोधी कदम चाल्ने बताएको छ।

यो कदम वाशिङ्टनमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू बीच व्यापार सम्झौता गर्ने प्रयास भइरहँदा चालिएको हो।

केही समय अगाडि मात्रै अमेरिका र चीन सम्झौताको नजिक देखिएका थिए।

चीनको व्यापार मन्त्रालयले आफ्नो वेबसाइटमा अमेरिकी कदमको पुष्टि गरेको छ।

"हामी आशा गर्छौँ चिनियाँ र अमेरिकी पक्षले सहयोग र सल्लाह गरेर यो समस्या समाधान गर्न मिलेर काम गर्नेछन्," मन्त्रालयले विज्ञप्तिमा भनेको छ।


अमेरिका र चीनको विवाद किन?
अमेरिकी राष्ट्रपति ट्रम्पले 'अमेरिकी प्रविधि तथा बौद्धिक सम्पत्तिको असन्तुलित स्थानान्तरण रोक्न र रोजगारी जोगाउन' आफूले पछिल्ला कदमहरू चालेको बताउँदै आएका छन्।

ट्रम्पले बिहीवार नै चीनसँगको वार्ताअघि दुई देशबीचको तनावलाई थप चर्काउँदै व्यापार वार्तामा चीनले सम्झौता तोडेको आरोप लगाएका थिए।

दुवै देशले अर्बौँको सामानमा आयातशुल्क लगाइसकेका छन्।

गत वर्ष मात्रै अमेरिकाले साढे दुई खर्ब डलरको चिनियाँ सामान र चीनले एक खर्ब डलरको अमेरिकी सामानमाथि शुल्क लगाएका थिए।

अमेरिकाले सन् २०१८ मा कूल ५.४ खर्ब डलरको चिनियाँ सामान आयात गरेको थियो भने १.२ खर्ब डलरको सामान चीन निर्यात गरेको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले व्यापार विवादलाई विश्व अर्थतन्त्रमाथि खतरा भनेको छ।

प्रतिक्रिया दिनुहोस