७ नं प्रदेशसभा सदस्यबाट शपथ

आइतबार, ०७ माघ २०७४, १६ : ५९
७  नं प्रदेशसभा सदस्यबाट शपथ

धनगढी । प्रदेश नम्बर ७ का प्रदेश सभा सांसदहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार दिउँसो जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश नम्बर ७ का ५१ जना प्रदेश सभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

प्रदेश सभामा ५३ जना सदस्य रहे पनि दुई जना भने अनुपस्थित रहे । डोटी क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विजयी भरत खड्का र कैलालीवाट समानुपातिक सांसद चुनकुमारी चौधरी भने शपथ कार्यक्रममा सहभागी भएनन् । खड्का छोरीको विवाह भएकोले तथा चौधरी काठमाडौंबाट आउन ढिलो भएकोले पद तथा गोपनियताको शपथ कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ ।

प्रदेश प्रमुख मोहनराज मल्लले जिल्ला समन्य समितिको हलमा जेष्ठ सदस्य नेपाली कांग्रेसकी समानुपातिक सांसद ६४ वर्षीया दिव्यश्वरी शाहलाई सपथ खुवाएपछि शाहले उपस्थित ५० जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाएकी हुन् ।
यता प्रदेश प्रमुख मल्लले छिट्टै प्रदेश सभाको बैठक बोलाउने बताएका छन् । प्रदेश सभाको पहिलो बैठकले प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस