बुटवल । प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं ५का सदस्यले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेललाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, राष्ट्र र जनताप्रति समर्पित रही शपथ खुवाएपछि पोखरेलले प्रदेशसभाका अन्य सदस्यलाई सामूहिक रुपमा शपथ गराए ।
नेपाली कांग्रेसबाट समानुपातिकबाट छनोट भएका पोखरेलको जन्म विसं १९९५ माघ १९ गते प्यूठानमा भएको हो । उनी रुपन्देहीबाट प्रदेशसभा सदस्यमा समानुपातिकमा चयन भएका हुन् ।
अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा प्रदेश सदस्यको शपथ कार्यक्रम आयोजना गरिएको थियो ।
सो अवसरमा प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ५२ र समानुपातिकतर्फका ३३ प्रदेश सदस्यले शपथ लिएका छन् । नेकपा एमालेबाट समानुपातिकमा निर्वाचित अर्घाखाँचीकी जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिन पन्त आजको शपथ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस