नेपाली मूलका युवा अष्ट्रेलियामा सांसद उम्मेद्वार

एजेन्सी

सोमबार, ०२ बैशाख २०७६, १३ : २६
नेपाली मूलका युवा अष्ट्रेलियामा सांसद उम्मेद्वार

एजेन्सी । इतिहासमै पहिलो पटक अष्ट्रेलियामा नेपाली मूलका युवा संघीय चुनावको उम्मेद्वार बनेका छन् । उनको नाम सत्तारुढ लिबरल पार्टीले सिफारिस गरेको हो ।
सिड्नी बस्ने २६ वर्षका प्रमेज श्रेष्ठलाई न्यू साउथ वेल्सको लिबरल पार्टीले सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मद्वारका रुपमा चयन गरेको हो । अष्ट्रेलियामा संघीय चुनाव यही मे १८ मा हुँदैछ ।

गत बिहिबार लिबरल पार्टीको एनएसडब्लयू वर्किङ कमिटीको बैठकले उनको नाम पारित गरेको हो ।

पिजे भनिने प्रमेज २० वर्षअघि ६ वर्षको उमेरमा आफ्ना आमा–बुवासँग अष्ट्रेलिया गएका थिए । मिस्टर नेपाल ओसेनियासमेत रहेका प्रमेज अष्ट्रेलियाको शिक्षा र व्यवसायसँग सम्बन्धित छन् । उनलाई अष्ट्रेलियामा दोस्रो पुस्ताको प्रेरणादायी नेपालीसमेत भनिन्छ ।

श्रेष्ठअघि कुनै पनि नेपाली मूललाई संघीय चुनावको उम्मेद्वार घोषित गरिएको थिएन त्यसकारण उनको नाम अष्ट्रेलियाको सांसद पदका उम्मेद्वारको रुपमा सिफारिस हँदा इतिहास रचेको छ । उनी सम्भवतः संघीय चुनावका कान्छा उम्मेद्वार हुन् । बार्टन क्षेत्रमा नेपालीको बाहुल्यता भएकाले श्रेष्ठलाई लिबरल पार्टले उम्मेद्वार बनाएको हो ।

एमएनटीभी र द नेपलिज भोइससँगको कुराकानीमा उनले आफू बार्टनमा हुर्किएको र बार्टन क्षेत्रबारे निकै ज्ञान भएको बताए । फराकिलो समूदायको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै खुसी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस