विकिलिक्सका संस्थापक जुलियन असान्ज लण्डनबाट पक्राउ

एजेन्सी

विहीबार, २८ चैत्र २०७५, १८ : ३३
विकिलिक्सका संस्थापक जुलियन असान्ज लण्डनबाट पक्राउ

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज लण्डनस्थित इक्वेडरको दूतावासबाट पक्राउ परेका छन् । इक्वेडरले असान्जलाई दिँदै आएको आप्रवासीको मान्यता अन्त्य गरे लगत्तै बेलायतको प्रहरीले उनलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

असान्ज सन् २०१२ देखि लण्डनस्थित इक्वेडरको दूतावासको शरणमा बस्दै आएका थिए । उनीमाथि अमेरिकी सेनाका हजारौँ गोप्य दस्तावेजहरु विकिलिक्समार्फत सार्वजनिक गरेको आरोप छ ।
लन्डनको मेट्रोपोलिटन प्रहरीले अहिलेका लागि असान्जलाई हिरासतमा लिइएको र उनलाई वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टसमक्ष पेश गरिने जनाएको छ । सात वर्षदेखि उनले इक्वेडर दूतावासमा शरण लिएका थिए । यौन उत्पीडन मुद्दामा स्विडेनमा सुपूर्दगी गरिने भएपछि उनले इक्वेडर दूतावासमा शरण लिएका थिए ।

असान्जले सन् २०१० मा ठूलो संख्यामा अमेरिकाका गोप्य दस्तावेज सार्वजनिक गरेका थिए । असान्जले स्विडेनमा सुपूर्दगी हुनबाट बच्नका लागि इक्वेडर दूतावासमा सन् २०१२ मा शरण लिएका थिए । पछि स्विडेनले उनीमाथिको  यौन अपराध मुद्दामा सफाइ दिएको थियो । सफाइ पाएपछि पनि असान्ज दूतावासमा बसिरहे किनकि उनले अदालतमा आत्मसमर्पण गर्न मानिरहेका थिएनन् । लन्डन प्रहरीले पनि उनलाई आत्मसमर्पण नगरेकै कारण पक्राउ गरिएको जनाएको छ । 

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले असान्जबाट निरन्तर अन्तर्राष्ट्रिय महासन्धिको उल्लंघन भएकाले उनलाई शरण दिइरहन नसक्ने तर्क दिए । तर विकिलिक्सले ट्वीट गरेर असान्जलाई राजनीतिक शरण नदिएर इक्वेडरले अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको तर्क दिएको छ ।

को हुन् असान्ज ?
स्वतन्त्र विश्वकोश, विकिपिडियाका अनुसार, जुलियन असान्ज अस्ट्रेलियन प्रकाशक तथा पत्रकार हुन् । छोटो समयमै ठूलो चर्चा कमाउने व्यक्तिहरूमा जुलियन असान्ज पहिलो नम्बरमा पर्छन् ।

उनको काम असल हो कि खराब भन्ने विषयमा विश्व दुई ध्रुवमा बाँडिएको छ । अमेरिकाको संस्थापन पक्षको नीति नै असल हो भन्ने मान्नेहरूका लागि असान्ज खलनायक हुन् । कारण उनले विश्वभरि रहेका अमेरिकी दूतावासले गोप्य रूपमा पेन्टागनलाई पठाएका दस्तावेज सार्वजनिक गरिदिए । यद्यपि सूचना सार्वजनिक गर्दा उनले व्यक्तिलाई प्रत्यक्ष हानि हुने कुरालाई भने सम्पादन गरेका छन् । अमेरिकी संस्थापन पक्ष असान्जले असल पत्रकारिता नगरेको मान्छ । अर्कातर्फ अमेरिकी संस्थापन पक्षसँग प्रत्यक्ष सरोकार नराख्ने, लोकतान्त्रिक विधिमा वकालत गर्ने एवं विश्वमा अमेरिकी प्रभाव बढेको नरुचाउनेहरूका लागि भने असान्ज हिरो हुन् । उनीहरूको विचारमा विश्वमा कसैले झुकाउन नसकेको अमेरिकालाई झुकाउने काम अन्साज एक्लैले गरे ।

अस्ट्रेलियामा १९७१ जुलाई ३० मा जन्मिएका जुलियन अन्साजले कुनै विश्वविद्यालयमा औपचारिक अध्ययन गरेका छैनन् । १६ वर्षको उमेरमै उनी दक्ष ह्याकर बने । कुनै पनि कम्प्युटरमा रहेको सूचना चोर्नु उनको सबैभन्दा रुचिको विषय थियो । जतिखेर उनी दक्ष ह्याकर बन्दै थिए, विश्व इन्टरनेट सञ्जालमा बामे सर्दै थियो । उनी सधैं समयभन्दा दुई पाइला अघि रहे । उनीसँग करिब अढाई लाख गोप्य पत्र रहेको सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस