तिब्बती धर्मगुरु दलाइ लामा अस्पताल भर्ना, क्यान्सरको आशंका

एजेन्सी

विहीबार, २८ चैत्र २०७५, १६ : २५
तिब्बती धर्मगुरु दलाइ लामा अस्पताल भर्ना, क्यान्सरको आशंका

दिल्ली । तिब्बती धर्मगुरु दलाइ लामा अस्वस्थ भएपछि उनलाई अहिले दिल्लीको अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार धर्मशालाबाट विमानमार्फत भारतको राजधानी दिल्ली लगिएको हो ।

लामालाई क्यान्सर भएको हुन सक्ने अनुमान पनि गरिएको छ । उनको छातीमा संक्रमण देखिएको निजी सहयोगीले बताएका छन् । उनका निजी सहयोगी तेन्जिङ ताक्ल्हाले धर्मगुरु लामालाई गम्भीर समस्या केही नरहेको र छातीमा देखिएको संक्रमणमा पनि सुधार भएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षका लामालाई अहिले डाक्टरको निगरानीमा राखिएको र स्वास्थ्यमा सुधार हुँदै गएको बताइएको छ ।

दलाइ लामा अझै केही दिन अस्पतालमै रहने उनको निजी सचिवालयले जनाएको छ । अस्पतालले भने विरामीको गोपनियताका कारण दलाइ लामाको स्वास्थ्य अवस्थाबारे केही जानकारी दिन नमिल्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सन् १९५९ मा चीनबाट निर्वाशित भएका लामा त्यसयता भारतको उत्तरी पहाडी शहर धर्मशालामा बस्दै आएका छन् । तिब्बतलाई चीनबाट मुक्त बनाएर स्वतन्त्र देशको मान्यता स्थापित गर्न अभियान चलाएका कारण उनी निर्वासनमा परेका हुन् ।

गएको वर्षदेखि आफ्ना विदेश भ्रमण स्वास्थ्यको कारण देखाउँदै कटौटी गरेका दलाइ लामाको स्वास्थ्यमा सुधार आएको सहयोगी तथा उनका प्रवक्ता ताक्ल्हाले बताएका छन् । उनले भनेका छन्, ‘लामो दूरीको यात्रा थकान युक्त हुन्छ । साधारणयता उहाँको स्वास्थ्य राम्रो छ । तर खतरा नहोस् भनेर मात्रै अस्पतालमा राखिएको हो ।’

दलाइ लामाले सामान्यतया वर्षको सात महिना विश्वका विभिन्न क्षेत्र भ्रमण गरेर बिताउने गरेका थिए । उनले आफ्नो भ्रमणको क्रममा बुद्धधर्मको प्रचार गर्ने तथा चीनबाट स्वतन्त्र हुनका लागि तिब्बतीले गरिरहेको संघर्षबारे बताउने गरेका छन् । उनले अघिल्लो हप्ता नयाँ दिल्लीमा शिक्षा क्षेत्रमा संलग्न भएका व्यक्ति तथा विद्यार्थीहरुको सम्मेलनलाई सम्बोधन गरेका थिए । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस