राजमार्ग केन्द्रित हुँदै दाङको आन्दोलन, दलहरूले लिए आन्दोलनको जिम्मा

विहीबार, ०४ माघ २०७४, १४ : १५
राजमार्ग केन्द्रित हुँदै दाङको आन्दोलन, दलहरूले लिए आन्दोलनको जिम्मा

दाङ । प्रदेश राजधानीको विषयमा तीन दिनदेखि दाङमा चलिरहेको आन्दोलनको जिम्मा जिल्लामा क्रियाशिल दलहरुले लिने भएका छन् ।

आज बिहीबार घोराहीमा बसेको सर्वदलीय बैठकले जिल्लामा चलिरहेको आन्दोलनको नेतृत्व गर्दै त्यसलाई राजमार्ग केन्द्रित बनाउने निर्णय गरेको हो ।
तीन दिनदेखि प्रादेशिक राजधानी सरोकार समितिले गर्दै आएको आन्दोलनलाई थप प्रभावकारी बनाउन नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्काको संयोजकत्वमा संयुक्त संघर्ष समिति समेत गठन भएको छ ।
सरकारले दाङलाई राजधानी नबनाएर गलत गरेको भन्दै संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलनलाई थप सशक्त बनाउने निर्णय दलहरू गरेका हुन् ।
संयुक्त संघर्ष समितिको उपसंयोजकमा नेपाली काँग्रेसका जिल्ला सभापति किर्तीबहादुर खड्कालाई तोकिएको छ । यस्तै संघर्ष समितिको सचिवको जिम्मा नेकपा माओवादी केन्द्रका नेता निर्मल आचार्यलाई दिइएको छ । संघर्ष समितिमा जिल्लामा रहेका अन्य पार्टीलाई सदस्य बनाइएको छ ।

यस्तै उद्योग वाणिज्य संघहरूलाई सदस्य बनाइएको छ । साथै संयुक्त संघर्ष समिति मार्फत् हुने आन्दोलनमा सहभागी हुन समेत संयुक्त संघर्ष समितिले सबैमा आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस