राजधानी माग गर्दै आन्दोलित धनुकेटावासीद्धारा क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी, दाङ, डोटी, कपिलवस्तु, वीरगञ्जमा पनि प्रदर्शन

विहीबार, ०४ माघ २०७४, १३ : १८
राजधानी माग गर्दै आन्दोलित धनुकेटावासीद्धारा क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी,   दाङ, डोटी,  कपिलवस्तु, वीरगञ्जमा पनि प्रदर्शन

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित आन्दोलनरत् धनुकेटावासीले क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।

सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाउने निर्णय गरेको विरोध जनाउँदै बिहीबार बिहानैदेखि सडकमा निस्किएका प्रदर्शनकारीले  क्षेत्रीय  प्रशासन कार्यालयमा आगजनी गरेका हुन् । साथै प्रदर्शनकारीले  विभिन्न सरकारी  कार्यालयमा तोडफोड समेत गरेको छन । आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, सहरी विकास कार्यालयका सिसा पनि फुटाइदिएका छन् । आगजनीबाट कार्यालयको एउटा कोठामा रहेका कम्युटर, प्रिन्टर तथा कागजातहरुमा क्षति पुगेको  छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने लाठी चार्ज समेत गरेको छ । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा ३ जना घाइते भएका छन् ।  आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालयले सदरमुकामका केही भागलाई  निषेधित क्षेत्र घोषणा गरेको छ । आज मध्यान्हबाट धनकुटा बजारक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले जानकारी दिए । उनका अनुसार जिरोपईन्ट, बसपार्क, बिहिबारे हटिया, लोकसेवा, आँखा अस्पताल लगायत ठाउँमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।
निषेधित क्षेत्र घोषणा भएपछि सडकमा हिँडडुल गर्न पाइदैन् । हिँडडुल गरेको भेटिए प्रहरीले पक्राउ गर्न सक्छ । अटेर गरेर प्रदर्शन भएमा प्रहरीले फाईरिङ पनि गर्न सक्ने प्रमुख जिल्ला अधिकारी उप्रेतिले जनाएका छन् ।

सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोकेपछि हिजो साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको थियो । राती मसाल जुलुश निकालेर सरकार बिरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजिनामा माग गरिएको छ ।
प्रादेशिक राजधानीका लागि ३५ दिनयता निरन्तर आन्दोलन गर्दै आएका धनकुटाबासीले अनिश्चितकालिन आमहड्ताल जारी राखेका छन् ।

प्रदेशको राजधानी माग गर्दै देशभरका मुख्य शहरहरुमा आन्दोलन चर्केको छ । दाङ, डोटी,  कपिलवस्तु, वीरगञ्ज पनि विरोध प्रदर्शन भएको छ ।
दाङ
 सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटबललाई ताकेपछि उक्त निर्णयको विरोधमा दाङका विभिन्न स्थानमा अनिश्चितकालिन बन्द आब्हान गरिएको छ । बन्दकर्ताले निर्णय फिर्ता गर्नुपर्ने मागसहित अनिश्चितकालिन बन्द गरेको जनाएका छन् । बन्दका कारण त्यस क्षेत्रको जनजीवन पुर्णतया प्रभावित बनेको छ ।

डोटी
सरकारले ताकेको प्रदेश राजधानीप्रति प्रदेश नम्बर ७ को डोटीमा वपनि आक्रोश बढेको छ । प्रदेश सातको राजधानी धनगढी तोकिएपछि आक्रोशित बनेका डोटीको दिपायलका स्थानीयले गएराती अबेरसम्म ढुंगामुढा र तोडफोड गरेका थिए । सरकारी निर्णय बदलेर क्षनेत्रिय प्रशासन कार्यलय भएको दिपायललाई नै प्रदेश ७ को राजधानी बनाउनुपर्ने उनीहरुको माग छ । निर्णय नसच्चाए आन्दोलन थप कडा बनाउने प्रदेश राजधानी आन्दोलन संयोजन समितिले जनाएको छ ।

कपिलवस्तु
अस्थायी राजधानी तोकेपछि कपिलवस्तुमा पनि बिरोध भएको  छ । सरकारले ५ नं प्रदेशको राजधानी रुपन्देही तोकेपछि कपिलवस्तु युवा संर्घष समितिको अगुवाइमा बिरोध गर्दै हिजो साझ ५ बजे बाट तीन दिन सम्म जिल्ला बन्द गर्ने निर्णय गरुेको छ । सरकारले प्राचिन कपिलवस्तुलाई हेला गरेको भन्दै राजधानीको विषयमा पुनबिचार गर्ने समितिले प्रेस बिज्ञप्तिमार्फत जनाएको छ ।

वीरगञ्ज
प्रदेश नम्बर २ अन्तर्गत वीरगन्जमा पनि विरोध प्रदर्शन भएको छ । स्थानीय, नेता कार्यकर्ता तथा अगुवाहरुले वीरगन्ज बन्द आह्वान गरेर विरोध सुरु गरेका हुन् । बिहीबार बिहानै बीरगञ्जका चोकमा जम्मा भएर स्थानीयले २ नम्बर प्रदेशको राजधनी वीरगन्ज बनाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस