बोलेर होइन काम गरेर देखाउँछु : मेयर दाहाल

सफल खबर संवाददाता

आइतबार, २६ फागुन २०७५, १३ : ०३
बोलेर होइन काम गरेर देखाउँछु : मेयर दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताउनु भएको छ । आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवनको शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

भरतपुर महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी कामहरु अगाडि बढाइरहेको बताउँदै प्रमुख दाहालले आफ्नै कार्यकालमा सुरु गरेका गौरवका आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल, रिङरोड र लिंकरोड, फोहोरमैलाको दिगो व्यवस्थापन, पार्क निर्माण, व्यवस्थित अटोल्याण्ड, सडकहरूको स्तरोन्नति, कालोपत्रे लगायतका कामहरु भैरहेको बताउनु भयो ।

गुणस्तरीय सेवा प्रवाहका लागि सुविधासम्पन्न कार्यालय अपरिहार्य हुने बताउँदै उहाँले सोही बमोजिम महानगरपालिकाले वडा कार्यालयहरु निर्माणको कामलाई जोड दिएको बताउनु भयो । केही वडा कार्यालयहरुको निर्माण सम्पन्न भैसकेको र ४ वटा वडा कार्यालयहरु निर्माणाधीन अवस्थामा रहेको बताउँदै मेयर दाहालले महानगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु सुविधासम्पन्न र प्रविधिमैत्री हुने बताउनु भयो । उहाँले निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले तोकिएको समयमै सम्पन्न गर्न निर्माण व्यवसायिलाई आग्रह गर्नुभयो । त्यसैगरी उहाँले  निर्माण कार्यमा नियमित समन्वय गर्न प्राविधिकहरूलाई र नियमित अनुगमन गर्न वडावासीलाई आग्रह गर्नुभयो ।

नदीतटीय क्षेत्रका जनसमुदायहरु विगतदेखि नदी कटान, डुबान र जंगली जनावरको आक्रमणबाट आक्रान्त भएको भन्दै उहाँले यसको दीर्घकालीन समाधानका लागि जग्गा उकास सहितको रापती र नारायणी नदीको तटबन्धन सहितको बाहिरी चक्रपथको कामलाई अगाडि बढाउन लागिएको बताउनु भयो । यो योजना सम्पन्न हँुदा यी समस्याहरु समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रमुख दाहालले पूर्वाधारकासाथै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकासका साथै सामाजिक विकास गर्दै सुशासन कायम गरी महानगरको विकास गर्नु आफ्नो प्रमुख उद्देश्य भएको बताउनु भयो ।

वडा नम्बर १७ का अध्यक्ष ललितमान तामाङले भाडामा लिएर कार्यालय संचालन गर्नु परेको अवस्थालाई अन्त्य गर्दै यसै आ.व.बाट नयाँ भवनमा सर्ने लक्ष्य राखिएको बताउनु भयो । १७ नम्बर वडा विगतदेखि नै विकास निर्माणमा पछि परेको बताउँदै वडा अध्यक्ष तामाङले यसको विकासको लागि महानगर प्रमुख दाहालले उल्लेख्य सहयोग गरिरहनु भएको बताउनु भयो । उहाँले जनप्रतिनिधि निर्वाचित भएर काम थालेदेखि हालसम्म भएका कामका विवरणहरु राख्दै भावी आवश्यकता र समस्याहरुका बारेमा जानकारी गराउनु भएको थियो । 

नेपाली कांंग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष तामाङले भरतपुर महानगरपालिकामा अनियमितता जस्ता हल्लाहरु निराधार भएको भन्दै प्रमुख दाहालले पारदर्शी र मितव्ययी ढंगले कामकारबाही गरिरहेको बताउनु भयो । उहाँले महानगरमा अनियमितता भयो रे भन्ने हल्लाको पछाडि नलाग्न वडावासीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रशासन प्रमुख कुलबहादुर जिसीले राजनीतिक नेतृत्वको निर्देशन बमोजिम कार्यान्वयनमा लागिरहेको बताउनु भयो । विधि, प्रकृया र नियमको पालनाका लागि सबैले आआफ्नो आचरणमा परिवर्तन ल्याउन आवश्यक रहेको उहँले औँल्याउनु भयो । 

समाजसेवी चन्द्रध्वज गुरुङले १७ नम्बर वडाको मध्यभागमा पर्ने बेलुवामा निर्माणाधीन वडा कार्यालय भवनले वडावासीलाई सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै समयमै गुणस्तरीय भवन निर्माण गर्न आग्रह गर्नुभयो । 

भवन निर्माण समन्वय समितिका संयोजक चुडामणि खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाताहरु गोपाल दराइ र लक्ष्मी महतोलाई सम्मान गरिएको थियो । दाताको सहयोग २ कट्ठा र महानगरपालिकाले खरिद गरेको २ कट्ठा गरी ४ कट्ठा जमिनमा आधुनिक मिटिङ हलसहित ४ कोठे कार्यालय भवन बन्न लागेको हो । 

५० लाखको जग्गा र भवन निर्माणको लागि एक करोड १४ लाख गरी एक करोड ६४ लाखको लागतमा सुविधा सम्पन्न वडा कार्यालय भवन बन्न लागेको हो । भवन यसै आर्थिक वर्षमा सम्पन्न गरी सेवा प्रवाह गर्ने लक्ष्य राखिएको वडा नम्बर १७ का इन्जिनियर प्रविण श्रेष्ठले बताउनु भयो ।


 

प्रतिक्रिया दिनुहोस