निर्मला पन्त हत्या प्रकरणमा ८ प्रहरीविरुद्ध मुद्दा दायर, ६ प्रहरी पक्राउ

सफल खबर संवाददाता

विहीबार, २३ फागुन २०७५, १२ : २४
निर्मला पन्त हत्या प्रकरणमा ८ प्रहरीविरुद्ध मुद्दा दायर, ६ प्रहरी पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तीमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा परेको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टले दिएको जाहेरीका आधारमा बुधबार जिल्ला अदालतमा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।
खड्ग विष्टले आफ्नो भाइलाई पक्राउ गरेर यातना दिएको भन्दै तत्कालीन डिएसपी सेट्ठी, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी, इन्सपेक्टर एकेन्द्र खड्का विरुद्धमुद्दा दायर गरेका थिए । 

निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको अभियोगमा तत्कालीन वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद बिरुद्ध मुद्दा दायर गरेकी थिइन् ।
बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको छ भने इन्सपेक्टर एकेन्द्र खड्का जगदिश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई अदालतमा उपस्थित गराइएको छ । उनीहरुको बयान आजबाट सुरु हुनेछ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार ६ जना कञ्चनपुर प्रहरीको हिरासतमा छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुनेछ ।

निर्मला घटनाको अनुसन्धानमा प्रहरीले लापरवाही गर्नुको साथै प्रमाण नष्ट गरेको सरकारी छानविन समितिले औंल्याइएको थियो । साथै घटनामा संलग्न भएको आशंकामा पक्राउ परेकाहरुलाई यतना दिएर अपराध स्वीकार गर्न दबाव दिएका थिए ।
गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस