रविन्द्र दाई हामी युवाहरुको लागि रोल–मोडल: प्रदीप पौडेल

सफल खबर संवाददाता

शनिबार, १८ फागुन २०७५, १८ : १२
रविन्द्र दाई हामी युवाहरुको लागि रोल–मोडल:  प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू र स्वर्गीय रविन्द्र अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उहाँ त नातामा पनि मेरो दाजु नै हुनुहुन्थ्यो । हाम्रो क्षेत्रमा उहाँको ठूलो प्रभाव छ । उहाँ वास्तवमा हामी युवाहरुको लागि रोल–मोडल नै हुनुहुन्थ्यो ।’

मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको भन्दै उनले अधिकारीलाई सबै पार्टीका युवा नेताहरुले रोलमोडलको रुपमा लिएको सुनाए । उनले भने, ‘अत्यन्तै लोकप्रिय हुनुहुन्थ्यो, ०६४, ०७० र ०७४ को निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँले पोखरामा पनि राम्रो छवि बनाउनुभएको थियो ।’

अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको पनि उनले सुनाए ।समाज र देशको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी अधिकारीमा रहेको उनले सम्झिए । उनले भने, ‘समकालिन नेताहरुमा उहाँ नेपाल बुझेको नेतामा पर्नुहुन्थ्यो ।

अधिकारीमा एउटा राजनीतिज्ञमा हुनुपर्ने सबै गुणहरु रहेको पनि सुनाए । उनले भने, ‘उहाँ सबै पक्षमा अब्बल हुनुहुन्थ्यो । उहाँ बाँचेको भए वाईडबडी प्रकरणमा आफूलाई निश्कलंक सावित गर्नुहुन्थ्यो ।’ पर्यटनमन्त्री भैसकेपछि अधिकारीले यो क्षेत्रको विकासको लागि एक वर्षमा धेरै काम गरेको उनले सुनाए । 

प्रतिक्रिया दिनुहोस