अस्ताए पर्यटनमन्त्री रविन्द्र अधिकारी ! जसमा नेपालको प्रधानमन्त्री हुने क्षमता थियो

सफल खबर संवाददाता

बुधबार, १५ फागुन २०७५, १६ : १८
अस्ताए पर्यटनमन्त्री रविन्द्र अधिकारी ! जसमा नेपालको प्रधानमन्त्री हुने क्षमता थियो

चितवन । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका सूर्य मानिने नेकपा एमालेका प्रतिभाशाली युवा नेता तथा कास्की–३ बाट प्रत्यक्ष निर्वाचित पर्यटनमन्त्री रविन्द्र अधिकारीको दुःखद निधन भएको छ । 
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा उहाँ चढेको हेलिकप्टर दुर्घटनामा परेका हो ।
आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने अधिकारी सवै नेपाली जनताको प्रिय साझा नेता हुनुहुन्छ । राजनीतिक बिश्लेषकका अनुसार अधिकारीलाई नेकपा एमालेको भविष्यको पार्टी अध्यक्ष र नेपालको प्रधानमन्त्री हुनसक्ने प्रवल सम्भावना रहेको क्षमता भएको नेताको रुपमा हेरिएको थियो ।

युवा अवस्थामा रविन्द्र अधिकारी
बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सुपुत्रको रुपमा वि.सं. २०२६ साल बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस ९ जामुनाबोटमा जन्मनुभएका रविन्द्र अधिकारीले वैबाहिक सम्बन्ध बिद्या भट्टराईसँग गास्नु भएको छ । विद्यार्थी राजनीतिमा चर्चित अधिकारी र भट्टराईको बिद्यार्थीबीचकै प्रेम सम्बन्धलाई विवाहमा बदल्नु भएको हो । विद्यार्थी समयमा चर्चित नेताको रुपमा रहनु भएकी विद्या अहिले भने त्रिभुवन बिश्वबिधालयमा प्राध्यापन पेशामा हुनुहुन्छ । उहाँहरुका दुई छोराहरु छन् ।

शिक्षा र विद्यार्थी राजनीति यात्रा
उहाँले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक तह र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नु भएको थियो । २०४५ मा १ वर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि विभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्नु हुन्छ । 
एशियाली विद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगायत अन्तराष्ट्रिय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिनु भएको थियो ।
राजनीतिमा संगठित हुँदा उनी सिर्फ १२ वर्षका थिए । २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियूका सबैभन्दा कान्छा सदस्य भएका थिए । 
सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस र क्लबहरुमा संलग्न हुनुभयो । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन, लगायतका मध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो । 
उहाँहरुले हजारौं दर्शकको बिचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीवनमै प्रदर्शन गर्नु भएको थियो ।
उहाँको बिद्यार्थी राजनीति यात्रा यस प्रकार छ :
१. २०३७ सालमा विद्यार्थी राजनीति मार्फत राजनीतिमा प्रवेश 
२. प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएपनि केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू 
३. बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगेपछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय 
४. २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष 
५. २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन 
६. २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य 
७. २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष 
८. २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य 
९. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा स्वबियु सभापति निर्वा्चित 
१०. २०५३ सालमा त्रिबि केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित 
११. २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित 
१२. २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष ।

विद्यार्थी आन्दोलन र जेल
आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ २०४६ को जनआन्दोलनमा क्रियाशील रविन्द्र पञ्चायत कालमा पटकपटक गरी ६ महीना जेल र हिरासतमा बिताउनु भयो । २०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । 
त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । २०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नुभयो । 
कलेज भवन निर्माण, क्याम्पस गेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिवर्तन भयो ।
विद्यार्थी जीवनमा एक बिचार गोष्टिमा स्व नेता मनमोहन अधिकारी र गणेशमान सिंहसंग विद्यार्थी जीवनमा एक विचार गोष्ठीमा नेता मनमोहन अधिकारी र गणेशमान सिंहसंग त्रिबिका स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्नुहुन्थ्यो । 
अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरीलाई बरिष्ट प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भब भएको थियो । शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भूभाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ ।

राजनीतिक यात्रा
जनतासँगको निरन्तर सम्पर्क र निकट अधिकारीले कास्की क्षेत्र नम्बर ३ बाट संविधानसभाको दुई पटककै चुनाव जित्नु भएको थियो । उहाँको राजनीतिक यात्रा यस प्रकार छ ।
१. २०४६ सालदेखि राजनीतिमा विशेष सक्रिय 
२. पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण २०४६ सालमा ८ महिना जेल जीवन 
३. प्रतिगमन विरोधी आन्दोलनमा ४ पटक पक्राउ परी हिरासत 
४. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सदस्य 
५. बिगतमा एमाले कास्की जिल्ला कमिटीका सचिव 
६. बिगतमा एमाले कास्की जिल्ला कमिटीका अध्यक्षमा निर्वा्चित 
७. संविधान सभा २०६४ को सभासद 
८. २०७० सालको संविधानसभा सदस्य 
९. हाल रुपान्तरित व्यबस्थापिका संसदको सदस्य 
१०. हाल नेकपा एमाले केन्द्रीय सदस्य 

संसद र संबिधानसभा
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबैलाई अवगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान, बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नु भएको छ । संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नुभएको थियो । 
संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो र पछिल्लो २०७० को चुनाबपछी संसदको बिकास समितिमा सभापति हुनुहुन्छ । आज नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल हुनहुन्छ ।


राजनीति र बिकास
राजनीति र बिकास एक अर्काका अन्तर सम्बंधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा र ससदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा बिश्वबिद्यालय, पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न बिद्यालयहरुको निर्माण, पोखराको खानेपानी, क्लबहरु, खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेल्नु भएको छ । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोक्नु भएका अधिकारी पोखरामा अन्तराष्ट्रीय बिमानस्थल, चक्रपथ, काठमाण्डू पोखरा लुम्बिनी फाष्ट ट्र्याक, काठमांडू पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो ।

प्रतिक्रिया दिनुहोस