राजनीती

गोरखाका कांग्रेससगं छुटिदै नयाँ शक्ति , अब के होला बाबुरामको चुनाव ?

शुक्रबार, २४ कार्तिक २०७४, १५ : २३
गोरखाका कांग्रेससगं छुटिदै नयाँ शक्ति , अब के होला बाबुरामको चुनाव ?

 

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई निर्वाचन सम्पन्न भए लगत्तै पुन वाम गठबन्धनमा फर्कने भएका छन् ।
निर्वाचन क्षेत्र विवादका कारण गठबन्धनबाट बाहिरिएका भट्टराई फेरि गठबन्धनमा फर्कन तयार भएको एमाले अध्यक्ष केपी ओली निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार एक साताअघि भट्टराई र केपी शर्मा ओलीवीच करिब एक घण्टा लामो कुराकानी भएको थियो । ओलीलाई भेट्न वालकोट पुगेका भट्टराईलाई केपीले चुनाव पछि वाम एकतामा फर्कन आग्रह गरेको र त्यसका लागि आफुले अनुकुल वातावरण बनाउने आश्वासन दिएका थिए ।

स्रोतका अनुसार ओलीले बाबुरामलाई वाम एकतापछि बन्ने पार्टीमा महत्वपूर्ण भूमिकामा रहेर काम गर्नेगरि तयार हुन आग्रह गरेका छन् । ‘तपाइ जस्तो मान्छे छुट्टै बसेर हुँदैन, क्षमता अनुसार तपाइले विशेष जिम्मेवारी लिएर काम गर्नुपर्ने छ, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो, चुनावपछि छलफलमा बस्यौ । धेरै टाढा नजानु । ’

सो क्रममा बाबुरामले गोरखा क्षेत्र नं २ मा आफुलाई नसघाएकोमा चित्त दुखाएका थिए । गोरखा क्षेत्र नं २ को साझा वाम उम्मेदवार बन्न नदिएकोमा उनको चित्त दुखाइ रहेछ, ओलीले त्यसलाई विर्सनुस् चुनाव तपाइले जित्नुपर्छ भन्नुभएको छ, स्रोतको दावी छ ।

स्रोतका अनुसार बाबुरामलाई वाम गठबन्धनबाट टाढा जान नदिन माओवादी केन्द्रका बर्षमान पुन अनन्त र एमाले नेता विष्णु पौडेलले गोरखा क्षेत्र नं २ मा भट्टराईलाई जिताउन पहल गर्ने आश्वासन दिदै आएका छन् । अखबार दैनिकसँग कुरा गर्दै एमाले नेता विष्णु पौडेलले भने चुनावमा सघाउने बारे कुनै समझदारी नभएको बताए । उनले भने, ‘चुनावमा सघाउने भन्ने कुरा भएन तर बाबुरामजीलाई फेरि हाम्रो गठबन्धनमा ल्याउनु पर्छ भनेर छलफल र भेटघाट गरिरेका छौँ । उहाँ हामीबाट धेरै टाढा हुनुहुन्न।’

गोर्खाली कांग्रेस सशंकित
यसअघि गोरखामा कांग्रेस विरुद्ध खरो उत्रने बाबुराम भट्टराई यसपाली भने कांग्रेसकै सहारामा चुनाव जित्ने मनोकांक्षा सहित चुनावमा होमिएका छन् । तर कांग्रेसीहरु भने बाबुराम चुनाव जितेर फेरि वाम गठबन्धनमा फर्कने खबरले सशंकित बनेको कांग्रेसका जिल्ला नेताहरुले बताएका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा एक नेताले भने, पार्टीको निर्देशन अनुसार बाबुरामलाई भोट त हाल्थ्यौँ तर बाबुरा मभोली फेरि वाम गठबन्धनमा फर्किएर गोरखामा कांग्रेस विरुद्ध जाइलाग्लान् की भन्ने चिन्ता छ । कांग्रेस गोरखाका लागि बाबुराम भट्टराई भन्दा नारायणकाजी श्रेष्ठ सहज हुने उनीहरुको विश्लेषण छ ।

बाबुराम जी सुरु देखि नै कांग्रेस विरुद्ध खरो उत्रदै आउनु भएको छ । तर अहिले अप्ठेरो अवस्थामा कांग्रेस खोज्दै आउनु भयो, उनले भने, भोली फेरि त्यही कांग्रेसको मत विरुद्ध बोल्न थाल्नुभयो भने अप्ठेरो हुन्छ भन्ने चिन्ता हो ।

यही कारण गोरखाका कांग्रेसका प्रभावशाली नेताहरु बाबुरामसँग चुनावी अभियानमा नखटिएको स्रोतले दावी गरेको छ । स्रोतका अनुसार निर्वाचन क्षेत्र नं २ को ख मा कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाइ नै बाबुरामको विपक्षमा उभिएका छन् । उनले आफ्ना कार्यकर्तालाई बाबुरामलाई भोट नदिने भनेको स्रोतको दावी छ ।  यस्तै कांग्रेसको जिल्ला सभापति हरि घले समेत बाबुरामको चुनावी अभियानमा सहभागि भएका छैनन् । उनको समर्थन नारायणकाजीलाई रहेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस