न्यायाधीशकै निर्देशनमा घुस लिएको बयान दिएपछि काठमाडौं जिल्ला अदालतमा खैलाबैला

मंगलबार, ०७ फागुन २०७५, १४ : ५५
न्यायाधीशकै निर्देशनमा घुस लिएको बयान दिएपछि काठमाडौं जिल्ला अदालतमा खैलाबैला

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ १७ गते काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसे ५ लाख घुससहित पक्राउ गर्यो । सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली अदालत पुगेको थियो । आयोगको टोलीले सेवाग्रहीसँग पाँच लाख रुपैयाँ  लिइसकेको अवस्थामा वन परिसर बबरमहलबाट उनलाई नियन्त्रणमा लियो ।
चालिसेले न्यायाधीशकै निर्देशनमा उक्त घुस लिएको साबिति बयान दिएका छन् । सुरेन्द्र थापाविरुद्ध चलिरहेको सवारी ज्यान मुद्दालाई सहजीकरण गरी कम सजाय गराउने प्रयोजनका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह, सहमति र आदेशमा उक्त रकम घुस लिएको बयान नासु चालिसेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा दिएका बयान दिएका छन् । मुद्दा हेर्न इजलासमै बसिरहेका बेला घुसको डिलिङ गरेको आरोप कुनै न्यायाधीशलाई यसरी लागेको पहिलोपटक हो ।
अख्तियारको आरोपपत्रमा सामेल चालिसेको बयानअनुसार सोही मुद्दा हेर्न बेन्चमा बसिरहेकै बेला न्यायाधीश बानियाँले उनलाई घुसको पैसा लिन जाने अनुमति दिएका थिए । विशेष अदालतमा समेत हुबहु बयान गरेका चालिसेले भनेका छन, ‘सो रकम मैले मागेको पनि होइन, म मेरो न्यायाधीशको आदेशबमोजिम काम गर्ने सानो तहको कर्मचारी मात्र हुँ ।’

‘न्यायाधीशले नजानुस् भनेको भए म बेन्च छाडेर जाने थिइनँ र नलिनू भनेको भए मैले तेत्रो पैसा लिने आँट गर्ने थिइनँ,’ चालिसेको बयानमा उल्लेख छ, ‘बेन्च चलिरहेको समयमा श्रीमान्को स्वीकृति लिएर मात्र बाहिर जानुपर्छ ।’ इजलास सहायकका रूपमा कार्यरत चालिसेले इजलासको सिसिटिभी फुटेजले आफ्नो कुरा पुष्टि गर्ने दाबी गरेका छन् ।

सामान्यतयाः इजलास चलिरहेका बेला बेन्च सहायकहरू इजलास छाडेर बाहिर निस्कँदैनन् । पिसाब लाग्ला भनेर पानी पनि नपिई सहायकहरू इजलास पस्ने गरेको अनुभव अदालतका कर्मचारी सुनाउँछन् । तर, इजलास सहायकको भूमिकामा रहेका नासु चालिसे गत माघ १७ गते सो मुद्दाको सुनुवाइ चलिरहँदा बेन्चबाट निस्केका छन् र अदालतछेउकै वन विभागपरिसरमा घुस लिँदालिँदै अख्तियारको टोलीद्वारा पक्राउ परेका छन् ।
त्यो दिन मुद्दा नं. ०७५–सिआर–०५४० को भीमबहादुर सिरस मगरको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी सुरेन्द्र थापा भएको सवारी ज्यान मुद्दा पेसी सूचीको पहिलो नम्बरमै थियो । सरकारी वकिलले बहस गरिरहेको वेला नै चालिसेको फोन बज्यो । त्यो फोन सुदर्शन नामका व्यक्तिको थियो, जो उक्त घुसको ‘डिल’मा संलग्न थिए ।

प्रतिवादीका दाजु सुमन थापासँग सोही मुद्दाकै क्रममा चिनजान भएको उल्लेख गरेका चालिसेले पेसीकै दिन बेन्चमा बसेका न्यायाधीश बानियाँलाई पैसा हात पर्न बाँकी रहेको र पैसा ल्याएपछि फोन आउने जानकारी दिएका थिए । चालिसेको बयानअनुसार त्यसपछि न्यायाधीश बानियाँले भने, ‘कतै हल्ला हुने हो कि ? हल्ला नगर्नू है ।’

सुदर्शन नामका व्यक्तिको फोन आएपछि भने न्यायाधीश बानियाँसँग सोधेरै घुस लिन वन परिसर पुगेको र सुमन थापाको रातो गाडीमा गएर पाँच लाख रुपैयाँ लिएको चालिसेको साबिती बयानमा उल्लेख छ । न्यायाधीश बानियाँ र उनकै फोनको लोकेसनसहितको कल डिटेल हेरे आफ्नो कुरा पुष्टि हुने दाबी चालिसेले गरेका छन् । न्यायाधीश बानियाँ नै मुख्य दोषी हुनुपर्ने जिकिर गर्दै उनले आफूलाई मतियारसरह सजायँ दिलाउन आग्रह गरेका छन् ।

२०७१ जेठदेखि काठमाडौं जिल्ला अदालतमा कार्यरत नासु चालिसे फाँटवाला थिए । त्यतिवेलैदेखि बेन्च सहायक अनुपस्थित हुँदा उनले वेलावेलामा सो भूमिका निर्वाह गर्ने गरेका थिए । २०७५ कात्तिकदेखि भने उनी नियमित रूपमा न्यायाधीश बानियाँको इजलास सहायकका रूपमा कार्यरत थिए ।

सवारी ज्यान मुद्दाका प्रतिवादी सुरेन्द्र थापाका दाजु सुमन थापासँग मुद्दाको क्रममा चालिसेको भेट भएपछि घुसको ‘डिल’ सुरु भएको थियो । चालिसेको बयानअनुसार न्यायाधीश बानियाँ यो डिलमा सुरुदेखि नै सामेल थिए । प्रतिवादीका दाजु सुमनले नै निवेदन दिएपछि अख्तियारले पाँच लाख रुपैयाँसहित आफ्नो टोली खटाएको थियो ।

चालिसेविरुद्ध अरोपपत्रसहित अख्तियारले रकम बरामद भएको फाइबरको झोला, रंगेहात नमुना परीक्षण रिपोर्ट, सुमन र चालिसेबीच घुसको डिलका क्रममा भएका अडियो÷भिडियो रेकर्डसमेत विशेष अदालतमा पेस गरेको थियो ।

विशेष अदालतको आदेशमा नासु चालिसेको साबिती बयान र सबुत प्रमाणका आधारमा न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा पाँच लाख घुस लिएको पुष्टि हुने बेहोरा उल्लेख छ ।

अख्तियारकै बयानलाई हुबहु दोहोर्याएका नासु चालिसेलाई विशेष अदालतका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको संयुक्त इजलासले पाँच लाख रुपैयाँ धरौटी लिई तारेखमा रिहा गर्ने आदेश गत फागुन २ गते गरेको थियो । सोही आदेशअनुसार धरौटी बुझाएर नासु चालिसे रिहा भइसकेका छन् ।

अख्तियारको ‘रेड’मा नासु चालिसे परेलगत्तै न्यायाधीश बानियाँलाई सर्वोच्च अदालत तानिएको छ । चालिसेको बयानले अब उनलाई उम्किने ठाउँ नदिएको चर्चा अदालत वृत्तमा चल्ने गरेको छ । न्यायपरिषद्ले चालिसेको बयानलाई कसरी विश्लेषण गर्छ र न्यायाधीश बानियाँलाई कस्तो कारबाही गर्छ त्यो भने हेर्न बाँकी छ ।

दिनहुँ घुसको भागबन्डा

पाँच लाखको उक्त घुस प्रकरणमा अख्तियार र विशेष अदालतमा साबिती बयान दिँदै चालिसेले अदालतमा दिनहुँ भ्रष्टाचार हुने गरेको खुलासासमेत गरेका छन् ।विभिन्न मुद्दाका क्रममा अदालत पुगेका सेवाग्राहीबाट विभिन्न बहानामा अदालतमा नियमित रूपमै घुस असुल गरिने नासु चालिसेको दाबी छ । विभिन्न फाँटमा असुल गरिने घुसको रकम साँझ दामासाही भागबन्डा गरेर कर्मचारीले खल्तीमा हाल्ने गरेको उनले बताएका छन् ।

घुसबाट उठेको रकममध्ये ६ देखि ८ हजार रुपैयाँसम्म हरेक कर्मचारीको हात पर्ने रहस्य पनि चालिसेले खोलेका छन् । न्यायाधीशदेखि कर्मचारीसम्म संलग्न देखिने भ्रष्टाचार प्रकरणले अदालतमा संस्थागत भएको भ्रष्टाचारको डरलाग्दो चित्र सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस