स्ववियुको निर्वाचन गर्न नसक्नेले राजीनामा दिनुपर्छ : जे.एन थपलिया

हिरालाल आचार्य ‘डायमण्ड’

मंगलबार, २९ माघ २०७५, १४ : २०
स्ववियुको निर्वाचन गर्न नसक्नेले राजीनामा दिनुपर्छ : जे.एन थपलिया

चितवन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलका प्रमुख राजनीतिक सल्लाहकार जे.एन. थपलियाले स्ववियुको निर्वाचन गर्न नसक्ने त्रिविका कर्मचारीहरुले राजीनामा दिनुपर्ने बताउनु भएको छ । 

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मुल इकाइ समिति वीरेन्द्र बहुमुखी क्याम्पसद्वारा शहीद दिवसको अवसरमा मंगलबार आयोजित विविध कार्यक्रमको पुरस्कार वितरण, नव आगन्तुक विद्यार्थीहरुलाई स्वागतसहित विविध सांस्कृतिक कार्यक्रम तथा समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

‘दुई–दुई वर्षमा हुनुपर्ने स्वतन्त्र विद्यार्थी युनियन ‘स्ववियु’ को निर्वाचन १० वर्षसम्म पनि गर्न नसक्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुको के काम ?’ उहाँले प्रश्न गर्नुभयो । नेपालमा स्ववियुको निर्वाचन हुन नसक्दा विश्व समुदायमा लाज भइरहेको उहाँको भनाइ थियो । यो लाज मेटाउनको लागि स्ववियुको निर्वाचन गराउन विद्यालय र विभिन्न विद्यार्थी संगठनहरुलाई उहाँले अपिल गर्नुभयो । 

कार्यक्रमका प्रमुख अतिथि थपलियाले स्ववियु निर्वाचन भएमा कुनै विद्यार्थी संगठनमात्र विजयी हुने होइन समग्र शिक्षाको सुधार हुने बताउनु भयो । उहाँले सबै विद्यार्थी संगठनहरुलाई एक आपसमा मिलेर त्रिविसँग स्ववियु निर्वाचनको मिति माग गर्न आग्रह गर्नुभयो । ‘पहिला सबै मिलेर निर्वाचन मिति तोक्न दबाव दिनुहोस्, पछि त त्यो प्रजातान्त्रिक प्रणालीमा गइहाल्छ । जित वा  हारलाई सहज स्वीकार गर्नुहोस्’ उहाँले भन्नुभयो ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज इश्वर सापकोटा ‘सुमन’ ले शहीदहरुको सम्झनामा विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । अग्रज विद्यार्थीहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको स्ववियुको निर्वाचन गरेर नेतृत्व चुन्न सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

कार्यक्रममा खेलकुद तथा अन्य विविध कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै विद्यार्थीहरुले नृत्य प्रस्तुत तथा गजल वाचन गरेका थिए । माघ १६ गते शहीद दिवसको दिनमा शहीदहरुको सम्झनामा दीप प्रज्वलन गरी शुरु गरिएको साताव्यापी विविध कार्यक्रम आज समापन गरिएको हो ।

अखिल क्रान्तिकारी मूल इकाइ समिति वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष अंकित दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रम अनेरास्ववियु मूल इकाइ समिति वीरेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष लिलाराम पौडेलले सञ्चालन गर्नु भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस