प्रदेश सरकार गठनमा वाम गठबन्धनको सहमति जुट्यो , हेर्नुहोस यस्तो छ सहमति

पत्रपत्रिकाबाट

शनिबार, २९ पुस २०७४, ०८ : ११
प्रदेश सरकार गठनमा वाम गठबन्धनको सहमति जुट्यो , हेर्नुहोस यस्तो छ सहमति

काठमाडौँ । वाम गठबन्धनले पार्टी एकता घोषणाकै क्रममा प्रदेश सरकार गठनमा भद्रसहमति गरिसकेको छ । ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा गठबन्धनको पूर्ण बहुमतको सरकार बन्ने भएकाले स्थानीय तह र प्रदेश सभा निर्वाचनको परिणामअनुसार १, ३, ४ र ५ एमाले तथा ६ र ७ मा माओवादी केन्द्रले लिने भद्रसहमति भएको स्रोतको दाबी छ । आजको नयाँ पत्रिकामा खबर छ ।

एउटा दलले मुख्यमन्त्रीको नेतृत्व पाएको प्रदेशमा सभामुख र उपसभामुखलगायतका जिम्मेवारी र मन्त्रालयको संख्यासमेत सन्तुलन मिलाउने विषयमा समेत कार्यदलले छलफल गर्नेछ । मुख्यमन्त्रीबाहेक प्रदेशमा सातवटा मन्त्रालय भागबन्डा गर्नुपर्नेछ । सातवटै प्रदेशमा माओवादीभन्दा एमाले सिटसंख्यामा अगाडि छ । आकांक्षीहरूको व्यवस्थापन गर्नुपर्ने भएकाले दुवै दलले व्यक्तिको योगदान र क्षमतालाई छनोटको मापदण्ड बनाएका छन् ।

६ नम्बरमा मुख्यमन्त्री नछाड्न एमाले नेतृत्वलाई दबाब
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ६ नम्बर प्रदेशको मुख्यमन्त्री माओवादीले पाउने गरी भद्रसमझदारी भएको बाहिर आएपछि त्यस क्षेत्रका एमाले नेताहरूले नेतृत्व नछाड्न आन्तरिक ‘लबिङ’ तीव्र बनाएका छन् । प्रदेश संगठन कमिटीको बैठकबाट मुख्यमन्त्रीमा एमालेकै दाबी स्वाभाविक हुने संस्थागत निर्णय गरेर त्यस क्षेत्रका नेताले दबाब सिर्जना गरेका हुन् ।

प्रदेश संयोजक युवराज ज्ञवाली, सहसंयोजक यामलाल कँडेल, पोलिटब्युरो सदस्य प्रकाश ज्वालासहित प्रदेश कमिटीका नेताहरूले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायतलाई भेटेर नेतृत्व माओवादीलाई दिन नसकिने भन्दै ज्ञापनपत्र बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस