डा केशीले किन तोडे अनसन ?

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १९ : ५१
डा केशीले किन तोडे अनसन ?

काठमाडौँ । डा. गोविन्द केसीले २४ औं दिनमा एकतर्फी रुपमा अनसन तोड्नुभएको छ । केसीले शुक्रबार बेलुका ७ बजे त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलमा पत्रकार सम्मेलन आयोजना गरेर अनसन तोड्नुभएको हो । उहाँलाई पछिल्लो समय अनसन तोड्न चौतर्फी दबाब आएको थियो । चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेको हुनाले उहाँलाई अनसन तोड्न चौतर्फी दबाब दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत अनसन तोडेर जीवन रक्षा गर्न सुझाव दिएका थिए । 
यसबाहेक पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमालगायतले अनसन तोड्न केसीलाई आग्रह गरेका थिए । डा केशीले चौतर्फी दबाब आएपछि अनसन तोडिएको बुझिएको छ । डा केशीले राज्यले नसुन्ने अवस्था आएपछि अनसन तोडेको बताउनुभएको छ । 


सरकारले उहाँका मागहरु सबै पूरा भइसकेको र अब अनसनको कुनै अर्थ नरहेको बताउँदै आएको थियो । डा केशीकै कारणले पछिल्लो समय उपचार सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती पाएका थिए । सरकारद्वारा बेवास्ता, विपक्षी नेतादेखि मानवअधिकारवादीसम्म सबैले अनसन तोड्न गरेको आग्रह, चिकित्सक संघमा देखिएको दुई धु्रबीकरण र डा केशीका समर्थन र सरकार विरोधी कार्यक्रम कमजोर बन्दै जानुलगायतका कारणले डा केशीले अनसन तोड्नुभएको बुझिएको छ । 
उहाँले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले नसमेटेका आफ्ना माग पूरा गर्न फरक ढङ्गले संघर्ष गर्ने बताउनुभएको छ । उहाँको यो भनाइलाई अब फेरि अनसनका कार्यक्रम हुने सम्भावना कम भएको छ । डा केसीले इलाम पुगेर अनशन सुरु गर्नुभएको थियो । अनशनकै क्रममा उहाँको स्वास्थ्यमा गम्भीर असर देखिएछि सरकारले डा केसीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याएको थियो । 
डा केसीले राखेका माग राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ ले सम्बोधन गरिसकेको भन्दै सरकारले पटकपटक अनशन तोड्न आग्रह गरेको थियो । 

यस्तो छ डा केशीको अनसन तोड्दाको विज्ञप्ति

प्रतिक्रिया दिनुहोस