नेविसंघका कार्यकर्ताद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १८ : ३७
नेविसंघका कार्यकर्ताद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

रौतहट । नेविसंघले रौतहटको चन्द्रनिगाहपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । शुक्रबार दिउँसो सरकारको विरोधमा चन्द्रनिगाहपुरस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्किएको जुलुसले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो । 

निर्मलालाई न्याय दे, ओली तिम्रो पाराले दुःख पाए साराले भन्ने नारा लगाउँदै निस्केको नेपाल विद्यार्थी संघको जुलुसमा सहभागी कार्यकर्ता र प्रहरीबीच केहीबेर घम्साघम्सी समेत भएको थियोे । प्रधानमन्त्रीको पुत्ला खोस्न लाग्दा आन्दोलनकारी सँग सामान्य घम्साघम्सी भएको प्रहरीले जनाएको छ ।

नेपाली काँग्रेस रौतहटका प्रदेशसभा सदस्य धनलाल ठोकर, बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव लगायत काँग्रेसका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको सहभागितामा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको थियो ।

त्यस्तै नेविसंघले गण्डकी प्रदेको राजधानी पोखरामा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ ।नेविसंघले पोखरा महानगरपालिका कार्यालय न्यूरोड नजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।
सरकारले जबर्जस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको भन्दै  नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको जनाएको छ ।
कार्यक्रममा नेविसंघका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस