युएई विरुद्धको टि-२० श्रृंखलाको दोस्रो खेलमा नेपाल विजयी

सफल खबर संवाददाता

शुक्रबार, १८ माघ २०७५, १८ : १६
युएई विरुद्धको टि-२० श्रृंखलाको दोस्रो खेलमा नेपाल विजयी

चितवन । युएई विरुद्धको टि-२० श्रृंखलाको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले राम्रो खेल्दै जिततर्फ लगेका थिए । दीपेन्द्र र पवनले छैटौं विकेटका लागि ५५ रनको साझेदारी गरे । दीपेन्द्र ४७ रनमा अविजित रहे भने पवन १८ रन बनाएर आउट भए ।
१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।

नेपालका लागि प्रदीप ऐरीले आठ, ज्ञानेन्द्र मल्लले सात र कप्तान पारस खड्का शून्य रनमै आउट भए । त्यस्तै सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपाल दबाबमा आएको थियो ।
नेपालका अनुभवि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । यद्यपी ज्ञानेन्द्र मल्ल र करण केसीले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । यो नेपालको दोस्रो ठूलो साझेदारी हो । मल्ल सात रनमा ६.१ ओभरमा आउट भएपछि करण नेपालको ३९ रन हुदा ब्यक्तिगत २० रनमा आउट भए ।

यसअघि पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० औं ओभरमा सबै विकेटको क्षतिमा १ सय ७ रन बनाउन सकेको थियो । 
नेपालका लागि अभिनाश बोहराले ३ तथा सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले २-२ विकेट लिएका थिए ।

यस जितसंगै ३ खेलको श्रृंखला १-१ को बराबरीको स्थितिमा पुगेको छ । नेपालले अब अन्तिम तथा सिरिजको तेस्रो खेल आइतबार खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस