संयुक्त महिला भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने- टिकट पाइएन भनेर चित्त नदुखाउनुहोस्

हिरालाल आचार्य ‘डायमण्ड’

विहीबार, २३ कार्तिक २०७४, १७ : ४६
संयुक्त महिला भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने- टिकट पाइएन भनेर चित्त नदुखाउनुहोस्


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले चितवनका वामपन्थी महिलाहरुलाई उम्मेदवारको टिकट पाइएन भनेर चित्त नदुखाउन आग्रह गरेका छन् ।

भरतपुरस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित वाम गठबन्धनको संयुक्त महिला भेला तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आग्रह गरेका हुन् । उनले महिलाहरुको सहभागितालेमात्र सबैखाले परिवर्तन दिगो र सुनिश्चित हुने बताउँदै चितवनमा महिलाहरुले यसपटकको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारहरुलाई भारी बहुमतले जिताएर नयाँ रेकर्ड कायम गर्नुपर्ने बताए ।

मलाई थाहा छ तपाइँहरुको मन दुखेको छ, चितवनमा महिलाले उम्मेदवार बन्न नपाएकोप्रति इंगित गर्दै अध्यक्ष प्रचण्डले भने, प्रतिनिधि सभाको तीन सिट र प्रदेश सभाको ६ सिटमध्ये कुनै एक सिटमा पनि महिलालाई टिकट दिन सकिएन । चितवनमा एक जना पनि महिला उम्मेदवार नहुनु हाम्रो कमजोरी नै हो । यसलाई अकस्मातको घटना सम्झेर चित्त बुझाउनु होला ।

नयाँ संविधान जारी गर्न नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेरै सम्भव भएको प्रचण्डले खुलासा गरे । हामी वामपन्थी दुई पार्टी मिलेर राष्ट्रपति पदमा महिला पु¥यायौँ, उनले भने, जनजाति महिलालाई संसदको सभामुख बनायौँ । प्रधान न्यायाधीशमा पनि महिलालाई लग्यौँ । हामी वाम गठबन्धनका दुई दल महिलाहरुको अधिकारप्रति सचेत छौँ । अहिलेको कमजोरी भविष्यमा दोहोरिने छैन ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको लागि हजारौँ महिलाले बलिदानी दिएको र लाखौँ महिला सडकमा उत्रिएको स्मरण गरे । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन कि भनेर शंका नगर्न महिलाहरुलाई अनुरोध गरे । वाम गठबन्धन चुनावी तालमेलका लागि मात्रै हो कि पार्टी एकता पनि हुन्छ भन्ने तपाइँहरुलाई लागेको होला, प्रचण्डले भने, पार्टी एकता त भई नै सक्यो, घोषणा हुनमात्र बाँकी हो । पार्टी एकता हुन्छ, शंका नगर्नुहोस् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले बृहद महिला भेलाले वाम गठबन्धनका सम्पूर्ण उम्मेदवारहरुको विजयको संकेत गरेको बताए । उनले वाम गठबन्धनपछि हार्ने निश्चित देखेर नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले होश गुमाउन थालेको बताए । आगामी मंसिर महिनाभित्र वामपन्थीहरुको दुईतिहाई बहुमतको सरकार बन्ने उनको दाबी थियो ।

अखिल नेपाल महिला संघ चितवन र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चितवनको आयोजनामा भएको महिला भेलामा एक हजार जनाभन्दा बढी महिला सहभागी थिए । कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, अनेम संघ केन्द्रीय उपाध्यक्ष सीता पौडेल, अनेम संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य शर्मिला विक, नेकपा एमाले चितवनकी सचिव पार्वती रावलले पनि मन्तव्य व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस