भरतपुरमा पहिलो पटक मिनी म्याराथन हुने

सोमबार, २३ पुस २०७५, १७ : २८
भरतपुरमा पहिलो पटक मिनी म्याराथन हुने

भरतपुर । चितवनमा पहिलो पटक मिनी म्याराथन प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ बागेश्वरीले ‘मधुमेह सचेतनाका लागि दौड’ भन्ने नाराका साथ पुस २८ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।

भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी आयोजक क्लबले लायन्सका संस्थापक मेल्भिन जोन्सको  जन्मोत्सव पारेर प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक हरिशरण श्रेष्ठले जानकारी दिनुभयो । भरतपुरको गेष्ट हाउस चौरबाट सुरु हुने दौड हाकिमचोक, पारसनगर, चोकबजार, प्रेमबस्ती, नारायणपुरहँुदै गेष्ट हाउस चौरमा आएर समापन हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौं स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः ४०, २५, १५, ७, र ५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ । निर्धारित दुरी २१ किलोमिटर सफलतापूर्वक पार गर्ने हरेक प्रतियोगीलाई एक हजार रुपैयाँ दिइने आयोजकको भनाइ छ । प्रतियोगितामा १८ वर्षमाथिका महिला र पुरुषले भाग लिन सक्ने छन् ।

कार्यक्रममा राष्ट्रिय स्तरका धावकहरुको सहभागिता रहने लायन्स क्लब अफ बागेश्वरीका अध्यक्ष जिवराज अधिकारीले जानकारी दिनुभयो ।


प्रतियोगीतामा ३ सय जनाभन्दा बढी धावकले सहभागिता जनाउने अध्यक्ष अधिकारीले बताउनु भयो ।
उहाँका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा महिला धावकहरुको सहभागिता रहने छ । मिनी म्याराथनमा भाग लिने प्रतियोगीहरुलाई जनही १ लाख रुपैयाँको बिमाको व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस