आफ्नो जग्गा खाली गराउँदै भरतपुर अस्पताल

सुरेन कुँवर

आइतबार, ०८ पुस २०७५, १२ : ०४
आफ्नो जग्गा खाली गराउँदै भरतपुर अस्पताल

चितवन । भरतपुर अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गराउनका लागि काम सुरु गरेको छ । अस्पतालको गुरुयोजना अनुसार भौतिक संरचना बिस्तार गर्न समस्या आएपछि अस्पतालले आफ्नो स्वामित्वमा रहेको जग्गा फिर्ता गर्न पहल सुरु गरेको हो ।
भरतपुर अस्पतालले वि.स २०३३ सालमा त्रिभुवन विश्वविद्यालयलाई अनमी कार्यक्रम संचालन गर्न ७ बिघा २ कठ्ठा जग्गा भोगाधिकारका लागि उपलब्ध गराएको थियो । तर त्रिविले अनमी कार्यक्रमको अवधि सकिएपछि वि.स २०४८ सालमा भरतपुर अस्पताल र स्वास्थ्य मन्त्रालयसँग जानकारी नदिई सिटीईभीटीलाई जग्गाको भोगाधिकार दिएपछि त्यहाँ स्कुल अफ हेल्थ साइन्स स्थापना गरिएको थियो ।
अस्पतालले ७ बिघा २ कठ्ठामध्ये १ बिघा २ कठ्ठा जग्गा खाली गराउन लामो समयदेखि पत्राचार गरेपनि सिटिइभिटिले अटेर गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘स्कुल अफ हेल्थ साइन्सले डेढ वर्षअघि ठाउँ खाली गरेको थियो’ उहाँले भन्नुभयो, ‘भाडामा बस्दै आइरहेको सिटीईभीटीको मध्यक्षेत्रीय कार्यालय त्यस ठाँउमा बस्यो । अहिले अस्पतालले जग्गा खाली गर्न पत्राचार गरेको छ ।’
नेपाल सरकार स्वास्थ्य मन्त्रालय सुशासन इकाइले वि.स २०७३ साल चैत्र १८ गते शिक्षा मन्त्रालयलाई भैतिक संरचना हस्तान्तरण गर्न पत्राचार गरेको थियो । यसको बोधार्थ भरतपुर अस्पताल, सिटीईभीटी सानो ठिमी भक्तपुरलाई दिइएको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनले जग्गा खाली गर्न भन्दै स्कुल अफ हेल्थ साइन्सलाई २०७५ मंसिर २१ गते पत्राचार गरेको छ ।
अस्पताललाई जग्गा अभाव भएका कारण साँघुरो ठाउँबाट सेवा प्रवाह गर्नु पर्ने बाध्यता रहेको छ । नर्सिङ कलेज, पोषण कार्यक्रम, ल्याब र अस्पताल प्रशासन कार्यालयको लागि जग्गा अभाव छ’ मेसु पौडेलले भन्नुभयो, ‘अस्पताललाई सानो क्षेत्रफलमा व्यवस्थित गर्न कठिन भइरहेको छ । जग्गा खाली नभएपछि अस्पतालको विकासमै बे्रक लागेको छ ।’
३१ बिघामध्ये स्कूल अफ हेल्थ साइन्स सिटीईभीटीले करिब ७ बिघा, भरतपुर आँखा अस्पतालले ३ बिघा १७ कट्टठा १० धुर, रक्तसञ्चार सेवा केन्द्रले करिब २ कठ्ठा, जिल्ला जनस्वास्थ्य कार्यालयले १० कठ्ठा १० धुर जग्गा भाडा नतिर्ने शर्तमा उपभोग गर्दै आइरहेका छन् । कलेज अफ मेडिकल साइन्सेस भरतपुरले भने ९ बिघा जग्गा भाडामा उपभोग गरेको छ । 
भरतपुर अस्पताल विकास संचालन समितिका अध्यक्ष खेमलाल भण्डारीले सिटीईभीटीलाई भरतपुर अस्पतालले जग्गा खाली गर्न पुनः पत्राचार गर्ने बताउनु भयो । अस्पताल जग्गा अभावका कारण विभिन्न समस्या देखिएकोले सिटीईभीटीले बिनाशर्त जग्गा खाली गरिदिनुपर्ने उहाँले बताउनु भयो ।
२०१३ सालमा स्थापना भएको भरतपुर अस्पतालमा ६ सय शैया सञ्चालनमा छन् । २०६३ सालमा बनाइएको गुरुयोजना २०७४ सालमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत भएको छ । गुरुयोजना अनुसार १० वर्षभित्र अस्पताललाई अति विशिष्ट सेवासहित एक हजार शैयाको बनाउनुका साथै शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस