निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह

सफल खबर संवाददाता

विहीबार, ०७ फागुन २०८२, १९ : ३६
निर्धक्क भएर फागुन २१ को मतदान प्रक्रियामा भाग लिन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइ सकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका छन् । 

बिहीबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन् । 

गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकोले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । 

यस्तै, बैठकमा तीनवटै सुरक्षा अंगका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराएका थिए ।        

गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको कार्यान्वयन र फागुन २१ गते हुने निर्वाचनको समग्र तयारी सम्बन्धमा विस्तृत छलफल समेत गरिएको छ । ‘जुम याप’ मार्फत सञ्चालन गरिएको बैठकमा गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिव (प्रदेश कमान्ड पोस्ट प्रमुख) तथा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट प्रदेश र जिल्लागत सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचन तयारीबारे जानकारी लिएका थिए । 

प्रदेश प्रमुख सचिव तथा प्रजिअ संयोजक रहने जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट बैठकमा प्रस्तुतीकरण समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस