काठमाडौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव २०६५ साउनमा निर्वाचित भएका थिए । यसअघि उनी लामो समय नेपाली काँग्रेस पार्टीमा विभिन्न जिम्मेवारीमा रही अग्रणी भूमिका निर्वाह गर्नुका साथै स्वास्थ्य मन्त्री भएका थिए । विसं २०६५ साउन ८ गतेदेखि २०७२ कात्तिक ११ सम्म मुलुकको राष्ट्रपति रहेका उनले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेका थिए। २०६२/६३ सालको जनआन्दोलनको जगमा गठन भएको संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
प्रजातन्त्र दिवसलाई केबल उत्सव होइन, जिम्मेवारी र आत्ममूल्यांकनको दिनका रूपमा पनि व्याख्या गर्ने उनी नेपाली जनताको दीर्घ संघर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिको प्रतीकको रूपमा लिने । भएकाले खासगरी युवा पुस्ताले यस दिवसको ऐतिहासिक महत्त्व र विशिष्टतालाई बुझ्न जरुरी रहेको उनको भनाइ छ । प्रस्तुत छ, प्रजातन्त्र दिवसको अवसरमा प्रथम राष्ट्रपति डा.यादवसँग गरेको कुराकानीको अंश :
प्रजातन्त्र दिवसले नेपाली जनताको संघर्ष र उपलब्धिलाई स्मरण गराउँछ । प्रजातन्त्र दिवसको सान्दर्भिकतालाई तपाई कसरी हेर्नुहुन्छ ?
नेपालमा प्रत्येक वर्ष फागुन ७ गते मनाइने प्रजातन्त्र दिवस केबल ऐतिहासिक सम्झनाको दिन मात्र होइन, लोकतान्त्रिक मूल्य, जनअधिकार र राष्ट्रिय एकताको पुन:प्रतिबद्धताको अवसर पनि हो । प्रजातन्त्र दिवसले नेपाली जनताले अधिकार प्राप्त गरेको २००७ सालको क्रान्तिको याद गराउँछ । यस महत्त्वपूर्ण अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दै, लोकतन्त्रको संरक्षण, सुदृढीकरण र समुन्नतिका लागि सबैलाई एकजुट हुन आह्वान गर्दछु । नेपाली जनताको अधिकारको ढोका खुलेको फागुन ७ गते अविस्मरणीय दिन रहेको छ । लामो संघर्षबाट जनताले पाएको अधिकार २०१७ सालमा अपहरण भएकामा २०४६ सालमा पुन: प्राप्त हुन सक्यो ।
विसं २०५९ राजाको प्रत्यक्ष हस्तक्षेपबाट प्रजातन्त्र अपहरणमा भएकामा २०६२/६३ को आन्दोलनबाट पुनः त्यो अधिकार जनतामा आएको छ । यसरी नेपालको इतिहासमा २००७, २०४६ र २०६२/६३ सालका आन्दोलनहरूका आ–आफ्नै महत्त्व रहे पनि यी सबै आन्दोलनको जग भने २००७ सालकै क्रान्ति हो । नेपाली जनताले निरङ्कुश शासन व्यवस्थाविरुद्ध संघर्ष गर्दै प्रजातन्त्र स्थापना गरेका थिए ।
नेपाली जनताको दीर्घकालीन संघर्ष त्याग र बलिदानबाट प्राप्त प्रजातन्त्र हाम्रो राष्ट्रिय गौरवको धरोहर हो । यस ऐतिहासिक उपलब्धिले जनताको सार्वभौमसत्ता स्थापित गर्दै देशलाई लोकतान्त्रिक मार्गमा अग्रसर गराएको छ । प्रजातन्त्र दिवसलाई केबल उत्सव होइन, जिम्मेवारी र आत्ममूल्यांकनको दिनका रूपमा पनि व्याख्या गर्नुहुन्छ । यस ऐतिहासिक दिवसका अवसरमा म सम्पूर्ण नेपालीमा लोकतान्त्रिक मूल्य-मान्यतालाई आत्मसात् गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि आ-आफ्नो क्षेत्रबाट सक्रिय योगदान गर्न हार्दिक आह्वान गर्दछु ।
लोकतन्त्रप्रति युवाको विश्वास र सहभागिता बढाउन कस्तो पहल गर्नुपर्ने देख्नुहुन्छ ?
प्रजातन्त्रको मूल आधार भनेको जनताको सर्वोच्चता हो । प्रजातन्त्रमा जनता नै सार्वभौम हुन्छन्, उनीहरू नै मालिक हुन् । शासन जनताको इच्छाअनुसार चल्नुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा लागू गर्नु नै प्रजातन्त्रको वास्तविक परीक्षण हो । जनताको सक्रिय सहभागिताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन । संविधानले दिएका अधिकारको उपयोगसँगै नागरिकले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ । नेपालको राजनीतिमा २०१७ सालको घटनापछि गत भदौ २३ र २४ गतेको घटनाले लोकतन्त्र र संविधानलाई नराम्ररी प्रभावित पारेको छ । भदौ २३ गते जेनजी युवाहरूले गरेको प्रदर्शन सही थियो तर २४ गतेको घटनाले लोकतन्त्रमाथि खतराको संकेत गर्दछ । प्रजातन्त्र दिवस नेपाली जनताको दीर्घ संघर्ष, त्याग र बलिदानको ऐतिहासिक उपलब्धिको प्रतीक भएकाले खासगरी युवा पुस्ताले यसको ऐतिहासिक महत्त्व र विशिष्टतालाई बुझ्न जरुरी छ ।
लोकतन्त्रको सफलताका लागि सुशासन अपरिहार्य मानिन्छ । भ्रष्टाचार नियन्त्रण र पारदर्शीता प्रवर्द्धनका लागि प्रभावकारी उपायहरू के हुन सक्छन् ?
सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत समृद्ध र आत्मनिर्भर नेपाल निर्माणतर्फ अघि बढ्न सकिन्छ । विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण, र समान अवसरको सुनिश्चितता लोकतन्त्रको सार्थकता मापन गर्ने आधार हुन् । लोकतन्त्रको सफलता नागरिकको जीवनस्तरमा सुधार, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहसँग जोडिएको हुन्छ । लोकतन्त्रलाई सुदृढ बनाउन राजनीतिक स्थायित्व, सुशासन, पारदर्शीता, भ्रष्टाचार नियन्त्रण, न्यायिक स्वतन्त्रता र प्रभावकारी सेवा प्रवाह अनिवार्य छन् ।
विविधतापूर्ण नेपाली समाजमा सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न लोकतान्त्रिक नेतृत्वले कस्तो भूमिका खेल्नुपर्छ ?
नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई लोकतन्त्रको शक्ति मान्न सकिन्छ । प्रजातन्त्र केबल अधिकार प्राप्तिको माध्यम मात्र होइन? यसले कर्तव्य बोध, सहिष्णुता, राष्ट्रिय एकता र पारस्परिक सम्मानलाई पनि सुदृढ बनाउँछ । लोकतन्त्र तब मात्र सार्थक हुन्छ, जब राज्यका सबै नागरिकले समान अवसर र सम्मानको अनुभूति गर्छन् । समावेशीता, संघीयता र सामाजिक न्यायको अवधारणा यही चरणमा सुदृढ भएको देखिन्छ । सामाजिक सद्भाव कायम गर्दै विकास, सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमार्फत समृद्ध राष्ट्र निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । लोकतन्त्रको रक्षा र सुदृढीकरणमा राज्य, राजनीतिक दल र नागरिक सबैको साझा दायित्व रहेको हुन्छ ।
विषम परिस्थितिमा मुलुकमा आमनिर्वाचन हुन गइरहेको छ, यसलाई तपाईँले कसरी हेर्नु भएको छ ?
गत भदौ २३ र २३ गतेको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिले लोकतन्त्रको लागि झण्डै आठ दशकको बलिदानबाट लोकतान्त्रिक संविधानलाई नराम्ररी ‘ड्यामेज’ गरेको छ । आशा गरौँ यही फागुन २१ गते हुन गइरहेको निर्वाचनले लोकतन्त्रलाई सबलीकरण गर्दै संविधानको संरक्षण गर्न सहयोग पुग्नेछ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । जनता सजग नभएसम्म यस्ता घटना भइरहन्छन् । जनता चेतनशील हुनुपर्छ । संविधान प्रदत्त समावेशीता, लोकतान्त्रिक प्रणाली समाज निर्माण गरिरहेका छौँ । भदौ २४ मा भएको क्षतिलाई निर्वाचनले पूरा गर्न सक्ने विश्वास लिएका छौँ । अब पनि यस्ता दुर्घटनाहरू हुन नदिन तथा शान्ति, स्थिरता र अमनचयन खल्बलिन नदिन सबै नेपाली सजग हुनुपर्छ ।
यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा मतदातालाई के भन्न चाहनुहुन्छ ?
यस पटकको आवधिक चुनाव होइन, संविधान माथि भएको क्षतिको पूर्ति गर्ने यो चुनावको धेरै ठूलो राजनीतिक महत्त्व छ । देशको स्थायित्वका लागि यो सुखद पक्ष हुनेछ । सही पार्टीलाई छानेर देशलाई अगाडि बढाउन आवश्यक छ । सम्पूर्ण देशवासीलाई सस्तो लोकप्रियता र चर्चाको भरमा भन्दा पनि राष्ट्रिय हितलाई ध्यानमा राखी निर्वाचनमार्फत आफ्नो मत दिन आग्रह गर्दछु । लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षा गर्नु नै अहिलेको मुख्य विषय हो । अन्त्यमा म सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा प्रजातान्त्रिक मूल्य-मान्यतालाई जीवनशैलीका रूपमा अंगीकार गर्दै निर्वाचनको माध्यमबाट देशको स्थायित्व, समृद्धि र सुशासनका लागि आ-आफ्नो स्थानबाट सकारात्मक योगदान गर्न हार्दिक आह्वान गर्दछु ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ फागुन २०८२, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुरेदोहनले तराई मरुभूमि बन्दैछ : प्रथम राष्ट्रपति यादव