किन आयो म्यानमार र श्रीलंकाको प्रेस काउन्सिल टोली चितवनमा

सुरेन कुँवर

आइतबार, ०१ पुस २०७५, १६ : ०७
किन आयो म्यानमार र श्रीलंकाको प्रेस काउन्सिल टोली चितवनमा

चितवन । प्रेस काउन्सील नेपालका अध्यक्षसहित म्यानमार र श्रीलंकाको प्रेस काउन्सिलको नौ सदस्यीय टोलीले आइतबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसँग भेट गरेर काठमाडौं फर्किएको छ । प्रेस काउन्सिल नेपालको निमन्त्रणामा नेपाल आएको टोली काठमाडौंपछि लुम्बिनीहुँदै चितवन आइपुगेको हो ।

टोलीले भरतपुर महानगरपालिकामा प्रेसको अवस्था, महिला अधिकार तथा महानगरले सुचनामैत्री महानगर बनाउन चालेका कार्यक्रमको बारेमा जानकारी लिएको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आइतबार आयोजित कार्यक्रममा श्रीलंका प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला वेल्लालागे र म्यान्मार प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङले चितवनमा प्रेसको अवस्थाबारे जिज्ञासा राख्नु भएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरका हरेक गतिविधिको बारेमा बेलाबेलामा पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने गरेको जानकारी दिनुभयो । भरतपुर महानगरले आफ्नो कामको पारदर्शिताको लागि नेपाल पत्रकार महासंघ चितवन शाखासँगको सहकार्यमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आइरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलाबहादुर भण्डारीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । म्यानमार र श्रीलंकाको प्रेस काउन्सिल टोली भरतपुरबाट काठमाडौं प्रस्थान गरेको छ । काठमाडौं फर्कने क्रममा टोलीले चितवनको कुरिनटारबाट मनकामना केबुलकार चढेर गोरखाको मनकामना मन्दिरको अवलोकन समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस