हिउँदको घाम, घुमफिर गर्ने र बनभोज खाने याम

बाबु कृषभ

विहीबार, २७ मंसिर २०७५, १२ : ०३
हिउँदको घाम, घुमफिर गर्ने र बनभोज खाने याम

चितवन । आहा ! हिउँदको घाम कति प्यारो हुन्छ । जतिबेला पनि घाममा बसिरहूँजस्तो लाग्छ । त्यसमा अझ साथीहरु मिलेर बनभोज गएर नाचगान गर्नू त अझ स्वर्गीय आनन्दको महसुस नै हुन्छ । 
पहिले वनभात वा वनभोज भनिन्थ्यो । अहिले पिकनिक भनिन्छ । पहिले वनको छेउछाउमा गएर पकाएर खाने भएर होला वनभोज भनिएको । अहिले वनभात वा वनभोजको ठाउँ पिकनिकले लिएको छ । हिउँदको घामलाई घुमघामको याम मानिन्छ । पिकनिकको मौसम ठानिन्छ । त्यसैले जोकोहीको लागि ‘हिउँदको घाम पिकनिक खाने याम’ बनिरहेको छ । 
चिसो बढिरहेको छ । घाम प्यारो हुँदै गइरहेको छ । घामको मीठो मायाले सताइरहेको छ । यो बेला हिउँदको समयमा ठूला कुनै चाडपर्व हुँदैन । कामको दौडधूप पनि हुँदैन । यतिबेला घुमफिर र पिकनिक जानेहरु खुसीले मस्ती छन्, नजानेहरुलाई पनि घुमफिर र पिकनिकको झझल्कोले सताइरहेको छ । जाउँजाउँ बनाइरहेको छ । 
त्यसैले भर्खर प्रेममा परेका युवायुवती होस् या विवाहित जोडी अथवा परिवार होस् वा सहकारी, संघसंस्थाहरु अथवा स्कुलका विद्यार्थी जसले पनि हिउँदको घामलाई सदुपयोग गरेर पिकनिकलाई प्राथमिकता दिइरहेका छन् । घुमफिरलाई अँगालेका छन् । पछिल्लो समय ‘नजिकको तीर्थ हेला होइन, माया’ भइरहेको छ । चितवन र यस आसपासमा रहेका केही पिकनिक स्पट र पर्यटकीय गन्तव्यहरु :

नारायणी नदी किनार
नारायणगढ बजार नजिकको नारायणी नदी किनारको पहारिलो घाम सबैको लागि प्यारो बनेको छ । डेटिङ स्पटको लागि होस् वा घुमफिरको लागि होस् उचित गन्तव्य भइरहेको छ । कलकल बगेको नारायणी नदीमा स–साना ढुंगा फाल्दै प्रेममा बाँधिएका थुप्रै जोडीहरु यहाँ देख्न सकिन्छ । 
नदी किनारमा बस्ने ठाउँ छ । ठूल–ठूला ढुंगाहरु छन् । नदी किनारमा चराचुरुङ्गीको मीठो आवाज सुन्न सकिन्छ । सनराइज नदी किनारबाट देख्न सकिन्छ । बस्ने ठाउँबाट नारायणी नदीको सुन्दर पुल देखिन्छ । नारायणी नदीका माछाहरु देख्न सकिन्छ । हरियो घाँस उमे्रको छ । के खाने हो, त्यो सजिलै पाइन्छ ।
भगवानका ठूला मूर्तिहरु छन् । प्रेममा बाँधिएका जोडीहरुले भगवानसँग पुकारा गर्न सक्छन् । वरिपरिको वातावरण ज्यादै रमणीय छ । स्पटमै पानीपुरी, चटपटे अन्य खाजाहरु मगाउन सकिन्छ । हिउँदको पारिलो घाममा नारायणी नदी किनार घुमफिरको उचित गन्तव्य भइरहेको छ ।

ज्ञानेश्वर सामुदायिक वन
भरतपुर–१६, ज्ञानेश्वर सामुदायिक वनमा रहेको सानोगढी पनि घुमफिर तथा पिकनिक स्पट हो । यहाँ पछिल्लो समय पिकनिक खाने समूह बढी आएका छन् । नजिकै नारायणी नदी बगेकी छन् । हिउँदको समयमा सानोगढी पनि घुमफिरको उचित गन्तव्य भइरहेको छ । बस्ने ठाउँमा हरियो घाँसहरु पलाएका छन् । 
ज्ञानेश्वर सामुदायिक वनको चराचुरूङीको मीठो चुर–चुर आवाज सुन्दै पिरती गाँस्न पाउँदा प्रेमी जोडीहरु मायामा मन्त्रमुग्ध हुन्छन् । बुटवल, वीरगञ्ज, पोखरा, काठमाडौंलगायतका बाहिरी जिल्लाबाट पनि पिकनिक खान यहाँ आइपुग्छन् । गढीमा रहेको उद्धार केन्द्रमा विभिन्न पशुपक्षी छन् । मायालु जोडीहरुले क्लिक–क्लिक पारी सेल्फी हान्दा त कम्ती रमाइलो त हुँदैन !

जलदेवी सामुदायिक वन
भरतपुर २ आँपटारीमा रहेको जलदेवी सामुदायिक वन पनि पिकनिक स्पट बनेको छ । स्कुलहरुबाट विद्यार्थीहरु त्यहाँ पिकनिक खानलाई आइरहेका छन् । पछिल्लो समय जलदेवी सामुदायिक वनले पिकनिक स्पटहरु बनाएको छ । 
यहाँ पिकनिक खानको लागि पानीको कुनै समस्या छैन । स्पटमा खटिएका कर्मचारीहरुले तत्काल पिकनिक खान आउने समस्याहरुको हल गरिदिन्छन् । विभिन्न स्पटहरुमा नाच्ने, पकाउने ठाउँ बनाइएको छ । बालबालिकाको लागि विभिन्न खालका पिङहरु जलदेवी सामुदायिक वनमा खेल्न पाइन्छ । 
जैविक विविधता र वनसम्वन्धि अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी जलदेवी पार्कदेखि सतञ्चुलीको डाँडासम्म ‘फुट ट्रयाक’ (गोरेटो) बनाउने योजना बनेको छ ।

कंकाली डाँडा
खैरहनी पर्साबाट साढे ४ किलोमिटर टाढा चैनपुर कंकाली सामुदायिक वनभित्र रहेको कंकाली डाँडा पनि पिकनिकको लागि उचित गन्तव्य बनेको छ । यहाँ कंकाली मन्दिर छ । भग्नावशेषहरु हेर्न पाइन्छ । पानीको फोहोराहरु छन् । फोहोरामा अडिएर सेल्फी खिच्नेहरुको ताँती लाग्छ ।
जोडीहरु खेल्ने पिङहरु पनि छ । ३७ हेक्टरमा फैलिएको कंकाली वन पिकनिक स्पटको लागि चर्चित छ । सिन्धुली, काठमाडौँ, भैरहवा, वीरगञ्जलगायतका ठाउँबाट यहाँ घुम्न आउँछन् । पिकनिक खान आउँछन् ।

मौलाकालिका मन्दिर 
नवलपरासीको गैंडाकोटमा रहेको मौलाकालिका मन्दिर पनि घुम्ने उचित गन्तव्य भइरहेको छ । मन्दिरको फेदीमा पिकनिक खान आउनेहरुको बाक्लो समूह हुन्छ । डाँडामा रहेको मन्दिर पुग्नलाई युवा जोडीहरुको भीड लाग्छ । मौलाकालिका पुग्नको लागि सिँढी चड्दै डाँडामा उक्लन सकिन्छ । प्रेम जोडीहरुले हात समाउँदै सेल्फी खिच्दै माथि उक्लदा छुटै आनन्दको महसुुस गर्छन् । 
तल फेदीबाट करिब डेढ दुई घण्टा हिँडेर डाँडामा उक्लेपछि मौलाकालिका मन्दिर पुगिन्छ । हिँड्दाको आनन्द बेग्लै हुन्छ । डाँडाबाट झरेर फेदीमा पिकनिक खाँदै नाच्दाको आनन्द आहा ! बयान गर्नै सकिदैन ।

सुन्दर सौराहा
सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो । पर्यटकीय नगरी सौराहा क्षेत्र घुमघामको उचित गन्तव्य बनेको छ । देशविदेशबाट यस ठाउँमा थुप्रै प्रेमिल जोडीहरुको घुइँचो नै लाग्छ । यस वर्ष पनि सौराहामा हात्ती महोत्सव हुने भएको छ । हात्ती महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकले सौराहा भरिभराउ हुन्छन् ।
राप्ती नदीको छालसँगै सौराहा क्षेत्रमा मायालु जोडीहरु हात्तीमाथि बसेर मायालाई सुमधुर बनाउँछन् । परिवार लिएर सौराहा घुम्दा जोकोही पनि मख्ख पर्छन् । सौराहानजिकै रहेको चितवन राष्ट्रिय निकुञ्ज हात्ती चढेर घुमघाम गर्न जोकोही पर्यटकहरु आतुर हुन्छन् । निकुञ्जमा रहेको गैंडा, बाघलगायतका वन्यजन्तु हेर्न पर्यटकहरु देशविदेशबाट आउँछन् । चितवनमा सबैभन्दा धेरै पर्यटक सौराहा घुम्न नै आउँछन् । यहाँको होटलमा थप लगानी भइरहेको छ  ।​

मेघौली, पटिहानी सिराई र गढी
चितवनको मेघौली, पटिहानी पनि पर्यटकीय क्षेत्र हुन् । पटिहानी पछिल्लो समय १०० पर्यटकीय गन्तव्यभित्र परेको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । पछिल्लो समय सिराइचुली र उपरदाङगढी पनि पिकनिक स्पट भएका छन् । चितवनका कलेजहरुले सिराइचुली र गढी घुमाउनका लागि विद्यार्थीहरुको समूहसमूह बनाएर लाने गरेका थिए ।  गढी क्षेत्र इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा पर्छ । यहाँ होमस्टेहरु समेत बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस