काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई वैदेशिक शक्तिहरूले युक्रेन बनाउन खोजेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुक बहुआयामिक संकटमा फसेको र यसबाट बाहिर निस्कन वामपन्थी तथा देशभक्त सक्तीहरूबिचको बृहत्तर एकता अनिवार्य रहेको बताए ।
खनालले विश्वको शक्ति सन्तुलनमा व्यापक परिवर्तन भइरहेको र पश्चिमा शक्तिहरूको वर्चस्व रहेको पुरानो विश्व व्यवस्था विघटनको दिशामा रहेको उल्लेख गरेका छन् । उनका अनुसार, अब विश्वमा न्याय र समानतामा आधारित नयाँ व्यवस्थाले आकार लिइरहेको छ, जसको प्रभाव नेपालमा पनि परिरहेको छ ।
देशको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै खनालले कुशासन, भ्रष्टाचार र बेरोजगारीका कारण देशको सामाजिक–आर्थिक संकट गहिरिएको बताए । विशेषगरी गत भदौ २४ गते जेन्जी आन्दोलनका नाममा भएको तोडफोड, आगजनी र लुटपाटले मुलुकलाई महासंकटमा धकेलेको उनको ठहर छ । उनले यसलाई देशी विदेशी प्रतिक्रियावादीहरूको सुनियोजित महाविध्वंसको संज्ञा दिएका छन् ।
वर्तमान सरकारले घोषणा गरेको निर्वाचनको स्वागत गर्दै खनालले तर निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि आवश्यक पूर्वाधार अझै तयार नभएको आशंका व्यक्त गरे । उनले भने,'निर्वाचनको विकल्प छैन, तर केवल निर्वाचन मात्र पर्याप्त छैन । संविधानको परिमार्जन, सुशासन, भ्रष्टाचारको अन्त्य र युवाहरूका लागि रोजगारी सिर्जना गर्ने ठोस योजनाका साथ अघि बढ्नुपर्छ ।'
खनालले १७ वटा विभिन्न वाम समूहहरूबिचको एकताबाट नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको जानकारी दिँदै बाँकी रहेका सम्पूर्ण कम्युनिस्ट र वामपन्थी शक्तिहरूलाई कार्यगत एकता वा वाममोर्चामा आबद्ध हुन आह्वान गरेका छन् । ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०८२, १० : ३७
लेखकबाट थप