विद्यालयमा ८० लाखको क्षति हुने गरी तोडफोड गर्ने चार जना पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, २४ मंसिर २०७५, १७ : २३
विद्यालयमा ८० लाखको क्षति हुने गरी तोडफोड गर्ने चार जना पक्राउ

चितवन । श्री माध्यामिक विद्यालय भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपेन्द्र तामाङ, राजेश कार्की, नविन वि.क. र रमित वि.क. रहेका छन् । उनीहरु सबै भरतपुर महानगरपालिका वडा नम्बर ८ निवासी हुन् ।

प्रहरी निरीक्षक युवराज तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलीले विद्यालयमा तोडफोड गर्ने व्यक्तिहरूको खोजतलास गर्ने क्रममा आइतबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उनीहरुले शनिबार साँझ विद्यालयका सुरक्षा गार्ड बिदामा रहेको मौका छोपेर विद्यालयमा तोडफोड गरेका थिए । 

शनिबार साँझ श्री माध्यामिक विद्यालयको विद्युतीय मिटर बक्स एवम् स्वीचबोर्ड फोरिएको, कक्षा कोठामा रहेका बोर्डहरू फुटाइएको, फर्निचरका सामानहरू तोडफोड गरिएको, सिलिङ फ्यानहरू बंग्याइएको, विज्ञान प्रयोगशालाका सम्पूर्ण सामानहरू तोडफोड गरिएको, कम्प्युटर ल्याबमा रहेका २३ वटा कम्प्यूटर पूर्ण रूपमा फुटाइएको, स्कुलको कक्षा कोठाका भुईं तथा कम्प्युटर ल्याबमा रगत लत्पतिएको पाइएको थियो । तोडफोड गर्न प्रयोग भएका फलामको रड र काठका टुक्रा कक्षा कोठामा छरिएको अवस्थामा भेटिएको रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिहरूले साँझको ४ बजेतिर विद्यालय हाताभित्र प्रवेश गरी विद्यालयको भौतिक सम्पत्ति तोडफोड गर्न शुरू गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस घटनाबाट विद्यालयको करिव ८० लाख बराबरको धनमाल क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरूद्धको कसूर अनुसार कारवाही प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रेग्मीले बताउनु भयो ।


 

प्रतिक्रिया दिनुहोस