पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

रासस

बुधबार, ०३ मंसिर २०८२, १० : ५६
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा आजदेखि उडान थालिएको हो ।

यसअघि असोज १२ सहित १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय गरिएको थियो । भुटान एयरको पोखरा–पारो (भुटान) सिधा उडान मंगलवार पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट औपचारिक रूपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए ।

भुटान एयर र नेपालस्थित प्रतिनिधि युनभर्सल टुर्स एण्ड ट्राभल्सको निमन्त्रणामा आफू पहिलो उडानमार्फत थिम्पु पुगेको जानकारी दिँदै महानगरपालिकाका प्रमुख आचार्यले भने, “भुटानस्थित पारो अन्तरराष्ट्रिय विमानस्थलबाट पोखरा खाली आएको विमानले पोखराबाट नौ जना पाहुना तथा क्रु मेम्बरसहित पारो विमानस्थलमामा सुरक्षित अवतरण गरेको छ । आज केही प्राविधिक कारणले पूर्व निर्धारित टिमसहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने अपेक्षा राखेको छु ।” भुटान एयरलाइन्स र युनभर्सल टुर्स एण्ड ट्राभल्सले यसअघि गरेको प्रतिबद्धता निकट भविष्यमै नियमित उडानमा पूरा हुने उनले विश्वास व्यक्त गरे ।

अक्टोबरदेखि सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण पुन तालिकीकरण भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको उल्लेख गर्दै उनले बाँकी नियमित सिधा उडान २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सबाट जानकारी प्राप्त भएको बताए ।

प्रतिक्रिया दिनुहोस