आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

सफल खबर संवाददाता

शुक्रबार, १४ कार्तिक २०८२, १७ : ०४
आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल सरकारको गत आर्थिक वर्ष २०८१/८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण, आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस गरेको छ ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनालसमक्ष यी प्रतिवेदन तथा विवरणहरू पेस गरेका हुन् । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयले आजै केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा पेस गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता दीपक लामिछानेका अनुसार नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरूप तयार पारिएको यी विवरण एवम् प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरू समावेश गरिएका छन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८/८२ मा नेपाल सरकारको सञ्चित कोष रु. एक खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था रु ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक छ । 

यद्यपि, विभिन्न कोषहरूको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बाँकी मौज्दात रकमका आधारमा नगद तथा बैंक मौज्दात रु. ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक देखिएको प्रवक्ता लामिछानेले जानकारी दिए । 

 

 

प्रतिक्रिया दिनुहोस