एजेन्सी । पाकिस्तान–अफगानिस्तान सीमामा शनिबार राति भीषण झडप भएको छ ।
यो साता काबुलमा गरिएको पाकिस्तानी हवाई हमलापछि अफगान तालिबानले पाकिस्तानी सैन्य चौकीहरूमा आक्रमण गर्दा तनाव तीव्र बनेको दुवै देशका सुरक्षा अधिकारीको भनाइ उद्धृत गर्दै गार्डियन न्युजले जनाएको छ ।
विभिन्न प्रान्तका वरिष्ठ तालिबान अधिकारीले पाकिस्तानी सैनिकमाथि सशस्त्र जवाफी कारबाही सुरु गरिएको बताएका छन् ।उनीहरूले दक्षिणी प्रान्त हेल्मन्दमा दुई पाकिस्तानी सीमा चौकी कब्जा गरिएको दाबी गरेका छन् ।
पाकिस्तानी सुरक्षा अधिकारीले धेरै सीमा क्षेत्रमा झडप भएको स्वीकार गर्दै बलपूर्वक जवाफ दिइरहेको बताएका छन् ।
एक पाकिस्तानी सरकारी अधिकारीले द गार्डियनसँग भने, “आज राति तालिबान सेनाले धेरै सीमा पोस्टहरूमा गोलाबारी सुरु गर्यो । हामीले सीमाका चार स्थानमा अर्टिलरी प्रयोग गरी जवाफ दिएका छौँ ।”
ती अधिकारीले थपे, “हामी आफ्नो क्षेत्रभित्र अफगान तालिबानको कुनै पनि आक्रमण सहने छैनौँ । पाकिस्तानी सेनाले भारी गोलाबारीसहित जवाफ दियो र धेरै अफगान सीमा चौकीहरूलाई प्रभावकारी रूपमा लक्षित गर्यो ।”
उनका अनुसार, जवाफी हमलामा पाकिस्तानी सेनाले आर्टिलरी, ट्यांक तथा हल्का र भारी दुवै प्रकारका हतियार प्रयोग गरेको थियो ।
गएको बिहीबार अफगान राजधानी काबुल र दक्षिण–पूर्वी अफगानिस्तानमा थप दुई विस्फोटका खबर सार्वजनिक भएको थियो । त्यसपछि तालिबान सञ्चालित रक्षा मन्त्रालयले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको पाकिस्तानमाथि आरोप लगाएको थियो ।
किन गहिरियो सीमा तनाव ?
विश्लेषकले हालका घटनाले सीमा तनाव कति गहिरो छ भन्ने स्पष्ट देखाएको बताएका छन् । वासिङटन डीसीका दक्षिण एसिया विश्लेषक माइकल कुगेलम्यानले भने, “सीमापारि पाकिस्तानी सेनामाथि बढ्दो आक्रमण, अफगानिस्तानमा असामान्य रूपमा तीव्र पाकिस्तानी हमला र तालिबानको जवाफी कारबाहीले समस्याका निम्ति ‘परफेक्ट स्टर्म’ सिर्जना गरेको छ । यसमा अफगानिस्तानले सीमालाई मान्यता नदिनु र संकटबारे गलत सूचनाको विस्तार हुनुले समग्र स्थिति खतरनाक बनेको छ ।”
पाकिस्तानले काबुललाई तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)लाई आश्रय नदिन आग्रह गर्दै आएको छ । टीटीपीले सन् २०२१ यता सयौँ पाकिस्तानी सैनिकको हत्या गरेको र तालिबानसँग वैचारिक निकटताका कारण अफगानिस्तानमा युद्ध तालिम पाएको विश्वास गरिन्छ ।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले हवाई हमलासम्बन्धी रिपोर्ट स्वीकार गर्दै भने, “पाकिस्तानी जनताको जीवनको सुरक्षाका निम्ति हामी जे आवश्यक छ, त्यो गरिरहेका छौँ र गरिरहनेछौँ ।”
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ असोज २०८२, ०७ : ३८
लेखकबाट थप