बडादसैँ परम्परा : गोरखाबाट काठमाडौँ पठाइयो फूलपाती

रासस

सोमबार, १३ असोज २०८२, १० : ५९
बडादसैँ परम्परा : गोरखाबाट काठमाडौँ पठाइयो फूलपाती

गोरखा । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली आज बिहान ७:३० बजे शुभसाइतमा पठाइएको छ। दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी फूलपाती बोकेर ल्याई सरकारी गाडी (बा २ झ ३८८२ नं) मा राखी पठाएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

गोरखा दरबारको दसैँघरबाट फूलपाती पठाउने प्रक्रिया विशेष धुमधामसहित सम्पन्न भएको थियो। सुसारेहरूले डोली बोकेर ल्याएपछि बाजागाजासहित र्‍याली निकालेर फूलपातीको बिदाइ गरिएको गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले बताए।

“गोरखाबाट पठाइएको फूलपाती आजै साँझ काठमाडौँको हनुमान ढोका दरबारमा हर्षबढाइका साथ भित्र्याइने परम्परा छ,” उनले भने। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपाती पठाउने परम्परा सुरु भएको ऐतिहासिक तथ्याङ्कमा उल्लेख छ।

यस वर्षको फूलपाती बिदाइ कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरलगायत जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

गोरखा दरबारको दसैँघरमा पनि आज साँझ विशेष विधिअनुसार फूलपाती भित्र्याइने र स्थानीयस्तरमा हर्षबढाइका साथ पर्व मनाइने परम्परा रहेको छ।

प्रतिक्रिया दिनुहोस