मत खरिदबिक्री नगर्न आयुक्त यादवको चेतावनी

पत्रपत्रिकाबाट

बुधबार, २२ कार्तिक २०७४, ०७ : २०
मत खरिदबिक्री नगर्न आयुक्त यादवको चेतावनी

धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जनताको अमूल्य मतलाई खरिदबिक्री अर्थात् वस्तु विनिमयको साधनजस्तो नबनाउन राजनीतिक दलसँग आग्रह गर्नुभएको छ ।

‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रमको धुलिखेलमा मङ्गलबार शुभारम्भ गर्दै उहाँले जनताको मत लोकतन्त्रको आधार भएकाले मतको सुरक्षा गर्नु सबैको दायित्व भएको स्पष्ट गर्नुभयो ।

टे«ड युनियनको दबाबमा कसैलाई पनि चुनावमा नखटाउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीलाई निर्देशन दिँदै डा. यादवले निर्वाचनमा गलत कार्य गर्ने जोसुकैलाई पनि कारबाही गर्ने
चेतावनी दिनुभयो ।

प्रमुख आयुक्त यादवले निर्वाचनमा खटिने कर्मचारीलाई कामप्रतिको प्रतिबद्धता, विश्वास र निरन्तरताका लागि मतदान र मतगणना प्रशिक्षण राखिएको बताउनुभयो ।

आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु राष्ट्रिय दायित्व, सङ्कल्प र लक्ष्य भएकाले निर्वाचन अभियान सफल पार्न सबैको सहयोग आवश्यक छ भन्नुभयो ।

दुवै चरणको निर्वाचनलाई सफल बनाउन करिब ६० हजार जनशक्तिलाई प्रशिक्षण दिइने जानकारी दिँदै प्रवक्ता ढकालले मतदान केन्द्रको बनावट, मतदातालाई दिनुपर्ने सुविधा तथा फरक क्षमता भएका मतदातालाई पु¥याउनुपर्ने सेवाका विषयमा तल्लो तहसम्म राम्रो सञ्चार प्रवाह गर्न प्रशिक्षकलाई निर्देशन दिनुभयो ।

प्रशिक्षणमा काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा र जिल्ला निर्वाचन अधिकारी मधुकर पोखरेलले निर्वाचनको तयारीका विषयमा जानकारी दिनुभयो । क्षेत्रीय स्तरमा प्रशिक्षण लिएका प्रशिक्षकले जिल्ला जिल्लामा गएर त्यस जिल्लामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण दिनेछन् ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मङ्गलबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको आकस्मिक अनुगमन
गर्नुभएको छ । गोरखापत्र

प्रतिक्रिया दिनुहोस