जनार्दनबारे माओवादीको सर्कुलर- आत्मालोचना गर्नुभएन, गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन भनिएको छ

सफल खबर संवाददाता

शुक्रबार, २३ साउन २०८२, १३ : ५७
जनार्दनबारे माओवादीको सर्कुलर- आत्मालोचना गर्नुभएन, गुटबन्दी नगर्न र नेतामाथि आरोप नलाउन भनिएको छ

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी उपमहासचिव जनार्दन शर्माले आत्मालोचना गर्न अस्वीकार गरेको सर्कुलर पठाएको छ । हालै बसेको स्थायी कमिटी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा आत्मालोचना गर्न भन्दा पनि अस्वीकार गरेको उल्लेख गरिएको छ ।

स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव शर्माका सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको उल्लेख छ ।

सर्कुलरमा भनिएको छ, ‘छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रूपमा माइन्यूटमा हस्ताक्षर नगर्ने, गुटबन्दीजन्य गतिविधि सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरीत भएको ठहरसहित स्थायी समिति सदस्यहरूबाट क. प्रभाकरलाई उक्त क्रियाकलापहरूप्रति आत्मालोचना गरी गल्ती कमजोरी सच्याउन जोड दिइयो ।’

अध्यक्षले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरूको सुझाव र आलोचनालाई आत्मसाथ गरी कमजोरी सच्याउन विशेष आग्रह गरेको उल्लेख छ । ‘तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको विषय बाहेक अन्य विषयहरूमा ठोस रूपमा आत्मालोचना गर्नुभएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाउनुभयो’ सर्कुलरमा भनिएको छ, ‘अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वका विरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क। प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ ।’

स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटीमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस