चितवनमा डकैती, चार जना पक्राउ

हिरालाल आचार्य ‘डायमण्ड’

शनिबार, १५ मंसिर २०७५, १४ : ३९
चितवनमा डकैती, चार जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा डकैती गरेको आरोपमा चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा २ का हाल भरतपुर ९ बस्ने ५० वर्षीय रामचन्द्र थापा, मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका ८ बस्ने ३२ वर्षीय रामकुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका ७ बस्ने ४८ वर्षीय सन्त बहादुर थिङ र चितवन जिल्ला रत्ननगर नगरपालिका १० बस्ने ३७ वर्षीय कृष्ण ढकाल रहेका छन् ।

आरोपित ढकाललाई चोरी गरेको मालसामान र नगद राखिदिएको आरोपमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
आरोपितहरु मंसीर ७ गते साँझ ७ बजेको समयमा सुवेदीको घरमा चक्कु र अन्य घरेलु हतियार देखाएर नगद, सुनचाँदी गरगहना, मोवाइल, ना ४१ प २०७६ नम्बरको मोटरसाइकल समेत गरी जम्मा ६ लाख २८ हजार रुपैयाँ बाराबरको धनमाल चोरी गरेर फरार भएका प्रहरीको भनाइ छ । 

पक्राउ परेकाहरुमध्ये रामचन्द्र थापा यस अघि डाँका र खरखजाना मुद्दामा सात वर्ष कैद भुक्तान गरेर छुटेको थिए ।रामकुमार मोक्तान डाँका मुद्दामा पाँच वर्ष कैद भुक्तान गरी २०७२ सालमा छुटेका थिए ।
पक्राउ परेकामध्ये डकैती गर्ने तीन जनालाई जिल्ला अदालत चितवनबाट म्याद थप गरी कानुनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस