माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य : कर्णजीत बुढाथोकी

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०८२, १३ : ४८
माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य : कर्णजीत बुढाथोकी

काठमाडौँ । नेकपाका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकी ‘शुसिल’ले नेकपा माओवादी केन्द्रले पार्टी एकताबारे गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । उनले आफूहरु एकताको पक्षधर भएको भन्दै आफ्नो पार्टीले अब केन्द्रीय समिति बैठकले एकताबाट ठोस निर्णय गर्न सक्ने जानकारी गराए ।

उनले क्रान्तिकारीहरुबीच समाजवादी क्रान्तिको लागि एकता आवश्यक रहेको समेत बताए । माओवादी केन्द्रबाट एकतासम्बन्धी ठोस प्रस्ताव आएपछि मात्रै आफ्नो पार्टीको औपचारिक धारणा आउने बताउँदै शुसिलले भने,“बाहिर आए जस्तै कुनै व्यक्तिको चाहनाभन्दा पनि देश, जनता र समयको मागअनुसार एकता हुने छ ।” माओवादी आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र समाजवादी क्रान्तिको लागि माओवादी धार र समाजवादी मोर्चामा आवद्ध पार्टीबीच एकता ध्रुविकरण हुने बताए ।

कार्यक्रममा बोल्दै शुसिलले २०८४ सालमा देश पुनः माओवादीमय हुने दाबी समेत गरे । उनले पार्टी एकतापछि निरास भएका जनता र कार्यकर्ताहरु समाजवादको लागि माओवादी आन्दोलनमा पुनः सक्रिय हुने बताए । उनले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद चाहने शक्तिहरुबीचको एकता धुर्बिकरण आवश्यक रहेको बताए । शुसिलले नयाँ पुस्ता र अवसरबाट बन्चित भएका इन्मान्दार र कर्तव्यनिष्ठ क्षमतावान व्यक्ति–व्यक्तित्वहरुको नेतृत्व सुनिश्चतता हुने गरी एकता हुनुपर्ने धारणा राख्दै भने,“राईट मेन, राइट प्लेस र राइट टाईमको अवधारणालाई एकताले आत्मसाथ गर्नुपर्छ ।” अबको एकतामा सबैले आ–आफ्नो ठाउँबाट रुपान्तरण हुँदै देश, जनता र वर्गको नेतृत्व गर्ने प्रतिबद्धता जनाउँनुपर्ने कुरामा जोड दिए । समाजवादको लागि उत्पादन महत्वपूर्ण भएको बताउँदै आफ्नो पार्टी श्रम र उत्पादनको माध्यमबाट पनि अगाडि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस