हेर्दा डरलाग्दा तर मनका सफा ‘ट्याबो ब्वाई’ फुर्साङ

सुरेन कुँवर

मंगलबार, ११ मंसिर २०७५, १६ : १०
हेर्दा डरलाग्दा तर मनका सफा ‘ट्याबो ब्वाई’ फुर्साङ

चितवन : शरीरभरि ट्याटु, डेडलक हानेको लामो जगल्टे कपाल, त्यसमाथि अनुहारमा २८ ठाँउमा छेडेर लगाइएका वस्तु । पहिलोपटक उनलाई देख्ने जो पनि डराउँछन् । उनी हुन् चितवनका ट्याबो ब्वाई २५ वर्षीय फुर्साङ बम्जन ।
उनको लुक्स केहि अनौठो लगेपनि उनको स्वाभाव भने छिट्टै घुलमिल हुने खालको छ । उनको बोलीमा परिपक्वता र नम्रता पाइन्छ । स्वभाव र व्यवहार उनको रुपसँग कत्ति मेल खाँदैन । उनको लुक्स र विगतको बारेमा नम्र भएर जवाफ दिने उनी सबैलाई आदार र सम्मान नै गर्छन् । २६ महिनासम्म आईसीयुमा उपचार गरेर फर्केका फुर्साङ घरमा बस्न थालेको ४ महिनामात्रै भयो । यो ४ महिनामा उनी सामान्य मनिसभन्दा एकाएक फरक भए ।

ग्रेण्डी इन्टरनेश्नल अस्पताल काठमाडौँमा लामो समयको उपचारपछि उनले नयाँ जीवन पाएका हुन् । उपचारका क्रममा चिकित्सकहरुले उनको परिवारलाई निको हुने सम्भावना न्यून रहेको बताएका थिए । ‘मैले नयाँ जीवन पाएकै छु’ फुर्साङ भन्छन्, ‘समाजमा अरुभन्दा फरक भएर बाँच्न चाहन्छु ।’

चितवनको कालिका नगरपालिका ११ लंकालाईन निवासी फुर्साङको यतिबेला सामाजिक सञ्जालमा चर्चा छाएको छ । सामाजिक सञ्जालमा उनलाई कलियुगको भूतदेखि जंगली मान्छे भनेर प्रतिकृया जनाइएको छ । कतिपयले उनको रुपलाई ‘व्यक्तिगत स्वतन्त्रता’ भनी टिप्पणी गरेका छन् भने केहीले ‘मति बिग्रेको’ भनेका छन् ।

उनको नयाँ लुक्सको बारेमा सफल खबरले बुझ्ने कोशिस ग¥यो । आफ्नो विगतलाई कोट्याउँदै फुर्साङ भन्छन्, ‘मलाई झुटो कुरा गरेर चर्चामा आउन मन लाग्दैन । जे भनेको छु सबै शतप्रतिशत सत्य हुन् । म पहिले लागूऔषधको लतमा परेको थिएँ । लागूऔषध लिँदा सिरिञ्चको अत्याधिक प्रयोग भएपछि मेरो स्वास्थ्य नाजुक बन्यो । मेरो उपचारको क्रममा खुट्टाका केही नसाहरु काटेर फलिएको छ । म राम्रोसँग हिँडडुल गर्न पनि सक्दिन ।’

उपचारको क्रममा ७५ लाख रुपैयाँ खर्च भयो । उनको परिवारले उपचार गर्दा भएको श्रीसम्पत्ति बेच्यो । उनी अहिले अरुकै घरमा भाडामा बस्छन् । लागूऔषधको कारण उनले घरबारमात्र बेच्नु परेन, २ वटा श्रीमती पनि गुमाउनु प¥यो । दुई वटै श्रीमतीले उनलाई सुधार्न नसकेपछि सम्बन्ध बिच्छेद गरे । श्रीमतीहरुले सम्बन्ध बिच्छेद गरेर गएकोप्रति उनी दुःख मान्छन् । भन्छन्, ‘मेरै गल्तीका कारण यो सबै भयो ।’


सम्पत्ति र श्रीमती सबै गुमाएका उनलाई जीवनमा अब केही फरक काम गर्छु भन्ने लाग्यो । उनी भन्छन्, ‘म जस्तो देखिन्छु त्यस्तो छैन । म अहिले लागूऔषध सेवनकर्ताहरुलाई यसको असरको बारेमा बुझाउने गर्छु ।’ आफ्नै उदाहरण प्रस्तुत गर्दै उनी अरुलाई कुलतमा नलाग्न आग्रह गर्छन् ।
१४ बर्षअघि उनको बुवाको मृत्यु भयो । बुवाको मृत्यु भएपछि केही साथीको लहैलहैमा लागेर लागूऔषधमा फँसे । त्यसपछि उनी लागूपदार्थबिना एकछिन पनि बस्न नसक्ने भए । उनले सबै प्रकारका लागूऔषध प्रयोग गर्न थाले । प्रतिफलमा उनको स्वास्थ्य अवस्था बिग्रिँदै गयो । विगतका दिनहरुलाई पश्चपात गर्दै फुर्साङ भन्छन्, ‘लागूऔषध सेवन गर्नुभन्दा भिन्न लुक्स बनाएर हिँडेको राम्रो ।’
अस्पतालबाट डिस्र्चाज भएर घर आएपछि उनको मनको अरुभन्दा केही फरक बन्ने ईच्छा जाग्यो । बिरामी हुनुभन्दा अगाडि उनको घाँटी र हातमा ट्याटु थियो । बिस्तारै उनले शरीरका अन्य भागमा पनि ट्याटु खोपे । हातबाट सुरु भएको ट्याटु खोप्ने क्रम अहिले पाखुरा, छातीहुँदै अनुहारसम्म पुगेको छ । ट्याटुपछि पियर्सिङको रहर गरेको उनले अनुहारभरी २८ ठाँउमा छेडेका छन् ।
उनी भन्छन्, ‘म बिरामी हुँदा मेरो आमाले बुद्ध भगवानसँग प्रार्थना गर्नु भएको थियो । स्वयम्भु गएर भाकल गरेर १ सय ८ वटा बत्ती बाल्नु भएपछि मलाई सञ्चो हुँदै गयो । त्यही विश्वासले मैले निधारमा भगवान बुद्धको ट्याटु खोपेँ ।’ उनले शरीरमा उनका साथी सुबास क्षेत्री, जलपरी, ‘से नो टु ड्रग्स’, लगायतका ट्याटु हानेका छन् ।
पछिल्लो समय उनी चितवनका विभिन्न ठाँउमा लाग्ने महोत्सवहरुको ट्याटु स्टलमा ट्याटुको डिजाईन कोरिरहेको अवस्थामा भेटिन्छन् । उनी भएको स्टलमा मानिसहरु फोटो खिच्नु प¥यो भन्दै आउँछन् । उनी भन्छन्, ‘दैनिक १ सय जना फ्यानहरु फोटो खिच्न आउनु हुन्छ । यसले मलाई थप हौसला मिलेको छ ।’
फरक लुक्सले गर्दा बेलाबेलामा उनी प्रहरीको तारो बनेका पनि छन् । उनलाई प्रहरीले तथानाम गाली गर्ने र हतकडी लगाएर प्रहरी चौकी लैजाने गरेको छ । ‘नयाँ प्रहरी चितवनमा सरुवा भएर आउनु भयो भने मलाई नराम्रो नजरले हेर्नु हुन्छ’ उनी भन्छन्, ‘मैले अँगालेको ट्याबोबारे प्रहरीलाई जानकारी छैन ।’ नेपालको लागि नौलो भएपनि यो अन्तर्राष्ट्रिय रुपमा पुरानो फेसन भएको उनी बताउँछन् ।
उनी फरक बन्नकै लागि केही समयपछि जिब्रो पनि छेड्ने तयारीमा छन् । तर उनलाई जिब्रो छेड्न घरपरिवारले मनाही गरिरहेको छ । फुर्साङ भन्छन्, ‘म कसैको उत्प्रेरणाबाट भन्दापनि मेरो आफ्नो सोखले सबै काम गरेको हुँ । म मेरो लुक्सलाई फरक बनाउँदै लैजानेछु ।’
सामाजिक सञ्जालमा चर्चा पाएसँगै अन्तरवार्ता लिन आफूकहाँ आउनेहरुको संख्या बढेको उनी बताउँछन् । ‘मैले मिडियामा आउँछु भन्ने सोचले फरक लुक्स बनाएको भने होइन’ उनी भन्छन्, ‘मिडियाबाट आउनेहरुलाई समय मिलाएर अन्तरवार्ता दिएको छु ।’ आफ्नो लुक्सलाई थप परिमार्जित गर्दै लैजाने उनको योजना छ । नाम होस् वा बदनाम होस्, तर गुमनाम नहोस् भन्ने भनाइ फुर्साङको हकमा शतप्रतिशत लागु भएको छ ।


 

प्रतिक्रिया दिनुहोस