अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

जबर्जस्ती करणीका १६ मुद्दा : आफ्नै छोरी पनि नछोड्ने बाबु !

बाबु कृषभ

मंगलबार, ११ मंसिर २०७५, १५ : ०४
जबर्जस्ती करणीका १६ मुद्दा : आफ्नै छोरी पनि नछोड्ने बाबु !

चितवन । भनिन्छ, सन्तानको लागि बाबु प्रेरणाको खानी हुन् । जुनसुकै सन्तान किन नहोस्, बाबुको छातीमा टाँसिदा उनीहरु सुरक्षित महसुुस गर्छन् । त्यसैले होला, बाल्यकाल छँदा कसैले गाली गरे एक थप्पड लगाए पख् ! तलार्इँ बाबालाई भन्दिन्छु भनिएको । आफ्नो बाबुप्रति त्यति ठूलो आशा, भरोषा र विश्वास गर्छन् सन्तानले । तर त्यही बाबुबाट सन्तान अुसरक्षित हुन्छन्, त्यही बाबुले आफ्नो छोरीमाथि कुदृष्टि राख्छन्, बलात्कारजस्तो घृणित कार्यमा सम्लग्न हुन्छन भने यहाँ कसको विश्वास अनि कसको भरोषा ? हाम्री छोरीहरु बाबुबाटै सुरक्षित छैनन् भने कोबाट सुरक्षित हुने ?
चितवन प्रहरीमा यस्तै एउटा उजुरी पयो, जुन बालिका आफ्नै बाबुबाट समेत सुरक्षित भइनन् । यो आर्थिक वर्ष (साउन यता) चितवन जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भए । जबर्जस्ती करणीका सबै घटनाका २१ अभियुक्त पक्राउ परेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए । 
चितवन प्रहरीका अनुसार १६ घटनामा १० जना बालिका पीडित छन् । ५ जना युवती छन् भने ६० वर्ष कटेकी एक वृद्धासमेत जबर्जस्ती करणीका शिकार भएकी छन् । जिल्ला प्रहरीले पीडित १० बालिकामध्ये आफ्नै बाबुबाट एक बालिका जबर्जस्ती करणीको शिकार हुनु परेको जनाएको छ । यो आर्थिक वर्ष चितवनमा जबर्जस्ती करणी उद्योगतर्फ ६ वटा जाहेरी परेको थियो । प्रहरी प्रवक्ता रेग्मीले जबर्जस्ती करणी उद्योगतर्फका ६ घटनाका सबै अभियुक्तलाई पक्राउ गरिएको बताए । जाहेरी परेका ६ वटा घटनाका अभियुक्त ६ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जबर्जस्ती करणी उद्योगतर्फ एक बालिका र ५ महिला पीडित थिए । 
प्रहरीका अनुसार यो आर्थिक वर्ष चितवनमा बहुविवाहका ६ वटा मुद्दा दर्ता भएका थिए भने १२ जना पक्राउ परेका थिए । चितवनमा घरेलु हिंसाका ठाडो निवदेन यो वर्ष १०८ वटा परेको थियो, जसमा ५० वटा फस्र्यौट भइसकेको छ ।  २०७४/०७५ मा चितवनमा जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जसमा २७ जना बालिका पीडित थिए । १६ देखि २५ वर्षका युवती १७ जना पीडित थिए । २५ वर्षमाथिका १२ जना महिला पीडित थिए । 
२०७४/०७५ मा जबर्जस्ती करणी उद्योगमा २३ वटा मुद्दा दर्ता भएका थिए । जसमा बालिका ११ जना, युवती (१६–२५ वर्ष) ७ जना र ५ जना महिला पीडित रहेका चितवन प्रहरीको भनाइ छ । 
चितवन प्रहरीका अनुसार ०७३।७४ मा जबर्जस्ती करणीका २९ र जबर्जस्ती करणी उद्योगमा २५ वटा मात्र मुद्दा दर्ता भएका थिए । चितवनमा जर्बजस्ती करणीको तथ्यांकलाई हेर्ने हो भने झन्डै दोब्बरले वृद्धि भएको देखिन्छ । 
 

के छ कानुनमा ?

यो आर्थिक वर्षको भदौदेखि जारी नयाँ कानुनी संहिताअनुसार अबदेखि १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिनेछ । जबर्जस्ती करणी गरेको पुष्टि भए महिलाको उमेर हेरी आजीवन कारावाससम्मको सजाय तोकिएको छ । 
त्यस्तै, श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमान्समेत जेल जानुपर्ने अवस्था छ । श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान्लाई ५ वर्ष जेल जानुपर्ने कानुन बनेको छ । त्यस्तै हाडनाता करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । 
 

किन बढ्दैछ ?

प्रहरीका तथ्यांक केलाउँदा दुई दशकअगाडि बलात्कारका घटना देशैभर वार्षिक दुई सयको हाराहारीमा दर्ता भएको देखिन्छ । अहिले त्यो संख्या झन्डै १२ सयको हाराहारीमा पुगेको छ । दुई दशकमा बलात्कारका घटना ६ सय प्रतिशतले बढेको देखिन्छ । आखिरी किन बलात्कारका घटना यसरी बढिरहेको छ ? 
चितवनकी महिला अधिकारकर्मी संगीता भट्टराईले बलात्कारका घटनामा सुक्ष्म तरिकाले अध्ययन गर्न जरुरी भएको बताउँछिन् । उनी भन्छिन्,  ‘बलात्कारका घटना बढ्यो बढ्यो भनिएको छ, तर हाम्रो समाजमा किन र कसरी बलात्कार र महिला हिंसाका घटना बढिरहेका छन्, भन्ने विषयमा खासै अध्ययन भएको देखिदैन ।’ 
उनका अनुसार कानुन भएर पनि कार्यान्वयन हुन नसक्दा बलात्कार, महिला हिंसाका घटनाहरु बढेका हुन् । उनले भनिन्, ‘विद्यालय, कलेजहरुमा किशोरकिशोरी लक्षित कार्यक्रमहरु ल्याउन जरुरी छ । पाठ्यपुस्तकहरुमा यौनजन्य, हिंसासँग सम्बन्धित सामग्रीहरु राखिनुपर्छ । सचेतनाका कार्यक्रमहरु ल्याउनुपर्छ ।’ 
न्यायसम्पादन र कानुनी कारवाहीमा पीडितलाई निरुत्साहित गर्ने प्रवृत्ति देखिएकाले कडा कानुन हुँदाहुँदै पनि बलात्कारका घटनामा कमी नआएको महिला अधिकारकर्मीहरु बताउँछन् । बलात्कारका घटनालाई विशेष प्राथमिकतामा राखेर हेरिनुपर्नेमा त्यसो नगरिँदा पीडकलाई प्रोत्साहन मिलिरहेको उनीहरुको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस